'ठूला दलहरू संविधान, संघीयता र समावेशी समानुपातिकलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजनामा छन्'

'ठूला दलहरू संविधान, संघीयता र समावेशी समानुपातिकलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजनामा छन्'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई ठूला दलले सत्ता प्राप्तिको लागि संविधान संशोधनको कथा बनाएको बताएका छन्। 

सोमबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधान संशोधनको कुरालाई ख्याल गर्दा सरकारको एजेन्डा संविधान संशोधनको नभएर माओवादीको सरकारलाई हटाएर सत्ता प्राप्ति गर्ने रहेको बताए। 

उनले भने, ‘संविधान संशोधनको चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ। मेरो विमति कहाँ छ भने, अहिले दुई ठूला दलहरूले त्यसको मर्म अनुसार अगाडि बढ्नुभएको छैन। २-४ दिनसम्म उहाँहरूको एजेन्डा संविधान संशोधन थिएन। उहाँहरूलाई चाहिएको सरकार थियो। माओवादीको सरकारलाई जसरी पनि हटाउनैपर्ने भयो भनेर संविधानको संशोधनको कथा बनाउनु भयो।’

उनले प्रधानमन्त्री भएर पनि काम गर्न केले रोक्यो भनेर प्रश्न आउने गरेको भन्दै प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न नमिल्ने र यो भन्दा बढि गर्नुपरेको भए १८ दिनमा नै सरकार छोड्नुपर्थ्यो भन्दै उत्तर दिए। 

प्रमुख राजनीतिक दल र त्यसका शक्तिशाली नेताहरूले नै समानुपातिकता या संघीयता मन नपराउने भन्दै कसरी कार्यान्वयन गराउने भन्ने विषय ठूलो चुनौती रहेको उनको दाबी छ। 

उनले भने, ‘संविधान र संघीयता जसरी पनि कार्यान्वयन गर्ने या समावेशी समानुपातिकलाई कार्यान्वयन गर्नेतिर होइन, यसलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजना छ। प्रधानमन्त्री भएर पनि केले रोक्यो भनेर प्रश्न पनि आयो, प्रधानमन्त्री भएर मात्र मन लागेको सबै गर्न मिल्ने भए धेरै गरिन्थ्यो। अलिअलि गर्दा त सुख पाइएन यो भन्दा बढि गर्नुपरेको भए, १८ महिना होइन १८ दिनमा नै सरकार छोड्नुपर्थ्यो।’

उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको भन्ने कुरामा नै आफू अन्यौलमा रहेको बताए। 

त्यसकै उत्तरमा प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईंले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ। उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरबार मार्गको नाम पनि कांग्रेस, एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो। यो कांग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो।’

त्यसअघि १५ वर्ष मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै संविधान नै प्रचण्डको भएको टिप्पणी गरेका थिए।

असोज ६, २०८१ सोमबार १७:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।