खुश्मा : निफन्न नजानेको द्वन्द्वकालको इमान्दार कथावाचन

खुश्मा : निफन्न नजानेको द्वन्द्वकालको इमान्दार कथावाचन

एक महत्त्वपूर्ण र विवादास्पद द्वन्द्वकालिन कालखण्डको विषय समेटेर निर्माण भएको फिल्म खुश्माले माओवादी विद्रोह र त्यसपछिको द्वन्द्वकालीन समयको अवस्थालाई मझधारमा बसेर प्रस्तुत गर्ने प्रयास गरेको छ।

द्वन्द्वकालको कथा पस्कन निर्देशक अशोक थापा मगरले रुकुम जिल्लाको तकसेरा गाउँको कथालाई टिपेर पर्दामा उतारेका छन्। उनले तकसेराको श्री थुथा हिमालय प्राविका हेडमास्टर माओत्से गुरुङ र उनका परिवारको कथाबाट द्वन्द्वसँग सरोकारै नभएकाहरूले पाएको दुख पस्कने प्रयास गरेका छन्। उनका जेठा छोरा जेमी (धिरज मगर) र गाउँकै केटी खुश्मा (उपासना सिंह ठकुरी) बिचको प्रेम कथा फिल्मको केन्द्रविन्दु हो।

जेमी र खुश्मा दुवै शहरमा पढ्छन् र गाउँ फर्किँदा भेट हुन्छ। उनीहरूको प्रेम स्कुलदेखि कलेजसम्म कायम रहन्छ। तर गाउँमा माओवादी र सरकारी सेनाको उपस्थितिले उनीहरूको जीवनमा ठुलो परिवर्तन ल्याउँछ।

माओवादीहरूले गाउँका युवाहरूलाई जबर्जस्ती भर्ती गर्ने र सरकारी सेनाले माओवादी भएको आरोपमा युवाहरूलाई यातना दिने क्रम चल्छ। यही क्रममा जेमीलाई माओवादीहरूले उठाउने खतरा बढ्छ र उसका साथीहरूको सल्लाहमा ऊ गाउँबाट भाग्छ। तर बाटोमै ऊ बेपत्ता हुन्छ।

यता, गर्भवती खुश्मालाई माओवादीहरूले लछारपछार गर्दै लैजान्छन्। त्यसपछि खुश्माको जीवनको सङ्घर्ष र उसको परिवारको विघटनलाई देखाउने प्रयास गरेको छ।

द्वन्द्वकालिन समयको कथामा आधारित यो पहिलो हैन। यस अगाडि पनि फिल्म बनेका थिए तर ती कुनै सरकारी पक्षको वकालतमा केन्द्रित भए त कुनै विद्रोही माओवादीको पक्षमा। खुश्माका निर्देशकले द्वन्द्वकालिन समयको वास्तविक परिस्थितिलाई निष्पक्ष ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेका छन्। माओवादी र सरकारी सेना दुवैले गरेका अत्याचारहरूलाई समान रूपमा देखाउने प्रयास गरेका छन् उनले।

फिल्मका केही दृश्यले दर्शकलाई भावुक बनाउन सक्छ। जस्तै खुश्मालाई माओवादीले लैजाँदाको दृश्यले दर्शकलाई भावुक बनाउन सक्छ। निर्देशकले बिच-बिचमा राखेको सस्पेन्सले दर्शकलाई फिल्मसँग जोडिराख्न मद्दत गर्छ।

विस्तृत शान्ति सम्झौताको आधारमा तत्कालीन विद्रोही माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। संसदीय अभ्यास स्वीकार गर्दै पटक-पटक सत्ताधारी भइसकेको छ। तर अझै पनि बेपत्ता नागरिकको समस्या समाधान हुन सकेको छैन।

राज्य अनि विद्रोही दुवै पक्षबाट बेपत्ता पारिएकाहरूको परिवारका सदस्य अहिले पनि कि सास कि लासको प्रतीक्षामा छन्। फिल्मले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिहरूको मुद्दालाई उठाएर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेको छ।

पछिल्लो समय समुदायको संस्कृति पस्कने सकारात्मक प्रतिस्पर्धा सुरु भएको छ नेपाली फिल्ममा। खुश्माका निर्देशकले यसलाई निरन्तरता दिँदै मगर समुदायको संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेका छन् फिल्ममा।

फिल्म कमजोरीसहित भने बन्न सकेको छैन। फिल्मको मुलकथासँग नजोडिएका दृश्य हटाउन निर्देशकले लोभ गर्दा फिल्म केही बोझिलो बनेको छ। पोखराको फेवाताल वरिपरि खुश्माले सासु आमालाई घुमाएको दृश्यको फिल्ममा के महत्त्व छ? कतै खुल्दैन।

द्वन्द्वको समयमा जब सरकारी पक्ष र विद्रोही पक्षबीच भिडन्त सुरु हुन्छ स्थानीय ज्यान जोगाउन घरभित्र लुकेर बस्ने गरेको प्रकाशित पुस्तक लगायतका अनुभवहरूबाट खुलेका विषय हुन्। अनि वास्तविकता पनि यही त हो। तर निर्देशकले फिल्ममा माओवादी र प्रहरीबीचको भिडन्त हेर्न गाउँलेहरू जम्मा भएको दृश्य राखेका छन्। यो त्यस समयको वास्तविकतासँग मेल खाएको देखिएन।

फिल्म २ घण्टा २६ मिनेट अवधिको छ। छोट्टाउन सक्ने दृश्यहरू टन्नै छन् फिल्ममा। तर सम्पादनमा अल्छी गर्दा निफनेको गहुँमा भुस मिसिए समान बन्न पुगेको छ।

फिल्ममा चरित्र विकासमा पनि असङ्गति देखिन्छ। कथा अनुसार खुश्माको उमेर बढेको देखाएका छन् निर्देशकले तर देवरको उमेर १६ वर्षपछि पनि उस्तै देखाइनु निर्देशकीय कमजोरी हो।

खुश्मा बनेकी उपासना सिंह ठकुरीको अभिनयमा निखारता देखिन्छ। खुश्मामा उनको अभिनय अघिल्ला फिल्मको तुलनामा बलियो देखिएको छ। जेमी बनेका धिरज मगरको अभिनयमा सुधार देखिएकै छैन। खड्ग बहादुर पुन मगर (खगपु) यो फिल्ममा किन छन् अर्थ खुल्दैन। अन्य कलाकारको अभिनय खासै उल्लेख योग्य छैन।

फिल्मको छायाङ्कन पनि सामान्य छ। विशेष उल्लेखनीय वा आलोचनायोग्य केही छैन। ब्याक ग्राउन्ड म्युजिक उपयुक्त छ। दर्शकलाई झर्को लाग्दैन। 'रुकुम मैकोट' बोलको गीत फिल्मको कथासँग मेल खाएको छ।

खुश्माले नेपालको इतिहासको  एक महत्त्वपूर्ण द्वन्द्वकालिन कालखण्डबारे दर्शकलाई सोच्न बाध्य बनाउन सक्छ। यद्यपि, यसलाई अझ छोटो र कथा केन्द्रित बनाउन सकेको भए थप प्रभावकारी हुने स्थान प्रशस्तै देखिन्छ। समग्रमा निर्देशकले 'खुश्मा' लाई विचारोत्तेजक फिल्म बनाउन मिहिनेत भने गरेका छन्।

असोज ६, २०८१ सोमबार १७:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।