जुम्लाका पाँच स्थानीय तहलाई साक्षर घोषणा गरियो
काठमाडौं : जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो।
साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर छन्।
गाउँपालिकाबाट शिक्षा शाखा प्रमुख शङ्कर धितालले भने, 'जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा सङ्कलन गरिएको तथ्याङ्कले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ।'
हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको उनको भनाइ छ।
हिमाको कूल १२ हजार आठ सय जनसङ्ख्यामध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर छन्। शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्याङ्क सङ्कलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ।
चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागार्इंले कूल २१ हजार ३६ जनसङ्ख्या रहेको नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेको बताए।
गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीन सय ८० जना मात्रै भेटिएका थिए। ती व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ।
पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर छन्। साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।
त्यहाँको कनकासुन्दरीभित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द भण्डारीले बताए।
असोज ७, २०८१ सोमबार १५:०९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।