किताबले खुलाएको भारतीय खुफिया एजेन्सी 'रअ' को रहस्य : अर्काको देशको दुतावासमा बसेर यसरी गर्छन् गुप्तचरी

किताबले खुलाएको भारतीय खुफिया एजेन्सी 'रअ' को रहस्य : अर्काको देशको दुतावासमा बसेर यसरी गर्छन् गुप्तचरी

एजेन्सी : सन् १९६५ मा भारत र पाकिस्तान बीच २२ दिनसम्म युद्ध भयो । तर त्यो निर्णायक युद्ध थिएन। पाकिस्तानको तुलनामा भारतको अवस्था बलियो थियो तर पाकिस्तानलाई भएको हतियारको अभावबारे भारतसँग जानकारी थिएन।

२२ सेप्टेम्बरमा युद्धविराम घोषणाहुँदा लगभग पाकिस्तानका सबै हतियारहरू सकिइसकेका थिए।

अमेरिकाले पाकिस्तानलाई हतियार दिन प्रतिबन्ध लगाएकाले आपूर्तिको पनि कुनै सम्भावना थिएन। रअका पूर्व प्रमुख शंकरन नायरले आफ्नो पुस्तक 'इनसाइड आईबी एण्ड रअ: द रोलिङ स्टोन द्याट ग्याथर्ड मस' मा लेखे अनुसार तत्कालीन सेनाध्यक्ष जनरल जे.एन. चौधरीले रक्षामन्त्री यशवन्तराव चव्हाणलाई रिपोर्ट दिएका थिए, ‘सटीक गुप्तचरी जानकारी नहुँदा पाकिस्तानमाथि निर्णायक जीत हासिल गर्न सकिएन। त्यो बेलामा जानकारी संकलनको जिम्मेवारी आईबीका जासूसहरूलाई दिइएको थियो।’

आलोचनाको परिणाम भारतले नयाँ गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विङ (रअ) स्थापना गर्ने निर्णय गर्यो। यसको जिम्मेवारी देशबाहिर गुप्त जानकारी संकलन गर्नु थियो।

'रिलेटिभ एण्ड एसोसिएट्स वेलफेयर एसोसिएशन'

१९६८ सेप्टेम्बर २१ मा रअको स्थापना भयो। रामेश्वर नाथ काव पहिलो प्रमुख बने। शंकरन नायरलाई उनको सहयोगी बनाइयो। यी दुई बाहेक २५० जनालाई इन्टेलिजेन्स ब्युरोबाट रिसर्च एण्ड एनालिसिस विङमा स्थानान्तरण गरिएको थियो।

सन् १९७१ पछि रामनाथ कावले सीधै कलेज र विश्वविद्यालयहरूबाट रअका एजेन्टहरू छान्ने परम्परा सुरु गरे।

परिणामस्वरूप रअमा काम गर्ने धेरै व्यक्तिहरूका आफन्तहरू र साथीहरूले संगठनमा रोजगारी पाए र ठट्टामा यसलाई 'रिलेटिभ एण्ड एसोसिएट्स वेलफेयर एसोसिएशन' भनिन थालियो।

तर १९७३ पछि यो परम्परा बदलियो र सीधै लिइएका व्यक्तिहरूले कडा प्रतिस्पर्धा र विभिन्न प्रकारका परीक्षाहरू दिनुपर्यो।

नितिन गोखलेले आफ्नो पुस्तक 'आर.एन. काव, जेन्टलमेन स्पाइमास्टर' मा लेख्छन्, ‘पहिलो परीक्षा मनोवैज्ञानिक परीक्षा थियो। उम्मेदवारहरूलाई बिहान ३ बजे एक स्थानमा आउन भनिएको थियो। त्यहाँ पुग्नेबित्तिकै उनीहरूको वस्तुनिष्ठ प्रकारको परीक्षा लिइयो। परीक्षा उत्तीर्ण गर्नेहरूलाई अन्तर्वार्ताका लागि बोलाइयो जुन एक संयुक्त सचिवले लिएका थिए।’

१९७३ मा रअमा छानिएका र अतिरिक्त सचिवको पदबाट सेवानिवृत्त भएका जयदेव रानाडे बताउँछन्, ‘अर्को चरणको अन्तर्वार्ता रअका वरिष्ठ अधिकारीहरू एन.एन. सन्तुक र शंकरन नायरले लिएका थिए। यसमा छानिएपछि हामी छ सदस्यीय छनौट समितिको सामु पुग्यौं जसमा विदेश सचिव, रअका प्रमुख आर.एन. काव र एक मनोविज्ञ सामेल थिए। मेरो अन्तर्वार्ता ४५ मिनेटसम्म चलेको थियो।’

दुई महिनापछि रानाडेलाई रअमा छानिएको सूचना आयो। उनीसँगै प्रताप हेब्लिकर, चक्रु सिन्हा र बिधान रावल पनि छानिएका थिए।

रअका विशेष सचिव पदबाट सेवानिवृत्त भएका राणा बेनर्जी भन्छन्, ‘१९८५ देखि १९९० को बीचमा रअमा अरु व्यक्तिहरू लिइए जसबाट विशेष सेवा बन्यो। पछि यो प्रयोग बन्द गरिदियो। अहिले ९५ प्रतिशतभन्दा बढी व्यक्तिहरूको छनौट भारतीय पुलिस सेवाबाट नै हुन्छ र आर्थिक गुप्तचरको काम हेर्नका लागि भन्सार र आयकर सेवाबाट केही व्यक्तिहरू लिइन्छन्।’

आईपीएसबाट भर्तीमा प्रश्न

रअका केही वर्गहरूमा यस छनौट प्रक्रियाको आलोचना भयो। रअका पूर्व प्रमुख विक्रम सूद आफ्नो पुस्तक 'द अनएन्डिङ गेम' मा लेख्छन्, ‘जब एक व्यक्ति पुलिस सेवामा अधिकारी बन्छ, उसको उमेर औसतमा २७ वर्ष छोइसकेको हुन्छ। यदि ऊ तीन वर्षपछि रअमा आउँछ भने, उसको उमेर ३० वा त्योभन्दा बढी भइसकेको हुन्छ। यस उमेरमा उसको लागि नयाँ काममा आफूलाई ढाल्न धेरै गाह्रो हुन्छ। यस समयमा ऊ बढी जोखिम लिने स्थितिमा पनि हुँदैन।’

विक्रम सूद लेख्छन्, ‘गुप्तचर एजेन्सीका व्यक्तिहरूलाई पुलिस सेवाबाट लिनु त्यति प्रभावकारी हुँदैन। यो एउटा यस्तो पेशा हो जहाँ भाषिक सीप र जानकारी निकाल्ने कला धेरै महत्त्वपूर्ण हुन्छ जसको लागि पुलिसहरूलाई प्रशिक्षित गरिँदैन। उनीहरूलाई आर्थिक, साइबर, वैज्ञानिक र सामरिक क्षेत्रमा पनि निपुण हुनुपर्ने आवश्यकता हुन्छ जसको तालिम एक आईपीएस अधिकारीलाई दिइँदैन।’

रअ अधिकारीहरूको तालिम

रअका लागि छानिएका व्यक्तिहरूलाई गुप्तचर जानकारी प्राप्त गर्ने आधारभूत तालिम दिइन्छ। उनीहरूलाई कुनै एक विदेशी भाषामा निपुणता हासिल गराइन्छ।

आधारभूत तालिमपछि उनीहरूलाई फिल्ड इन्टेलिजेन्स ब्युरोसँग राखिन्छ जहाँ उनीहरूलाई अत्यन्त चिसोमा कसरी काम गर्ने, कसरी घुसपैठ गर्ने, कसरी पक्राउ पर्नबाट बच्ने, कसरी प्रश्नहरूको जवाफ दिने र कसरी नयाँ सम्पर्कहरू स्थापित गर्ने भन्ने तालिम दिइन्छ।

फिल्डमा जानुअघि उनीहरूलाई आत्मरक्षाको 'क्रावमगा' को तालिम दिइन्छ। यो एक प्रकारको इजरायली मार्शल आर्ट हो जसमा आमने-सामनेको भिडन्त जित्न गैर-परम्परागत तरिकाहरू सिकाइन्छ।

राणा बेनर्जी बताउँछन्, ‘विदेश जानुअघि उनीहरूलाई यस्ता कुराहरू सिकाइन्छ जुन पछि काममा आउँछन्। जस्तै एक समयमा 'डेड लेटर बक्स' को कुरा हुन्थ्यो। तपाईं कुनै रुखको फेदमा कागज राख्नुहुनेछ। त्यहाँबाट अरू मान्छेहरूले त्यसलाई लिनेछन्। राख्ने र लिने प्रक्रियामा चिन्हहरू लगाउनुपर्छ। कोड भाषा लेख्न पनि सिकाइन्छ।’

दूतावासहरूमा 'अन्डरकभर'

संसारका सबै देशहरू विदेशमा रहेका आफ्ना दूतावासहरूलाई जासूसहरूको गुप्त अड्डाको रूपमा प्रयोग गर्छन्। रअका एजेन्टहरूलाई पनि प्रायः विदेशमा भारतीय दूतावासहरूमा तैनाथ गरिन्छ। कैयौं पटक उनीहरूलाई नक्कली नामसहित बाहिर पठाइन्छ।

खोजी पत्रकार यतीश यादव आफ्नो पुस्तक 'रअ ए हिस्ट्री अफ इन्डियाज कोभर्ट अपरेशन्स' मा लेख्छन्, ‘उनीहरूको वास्तविक नाम सिभिल सेवाको सूचीमा हुन्छन्। एक पटक रअमा काम गरिरहेका विक्रम सिंहलाई विशाल पण्डित बनेर मस्को जानुपर्यो। उनका परिवारका सदस्यहरूले पनि आफ्नो नाम बदल्नुपर्यो। यदि विदेश पोस्टिङको अवधिमा उनको घरमा बच्चा जन्मियो भने त्यसको थर पनि नक्कली राखियो र त्यो उमेरभर त्यसैसँग टाँसियो।’

रअका प्रमुख रहेका अमरजीत सिंह दुलत एउटा रोचक घटना सुनाउँछन्, ‘हाम्रो एक कश्मीरी साथी छ हाशिम कुरैशी जसले पहिलो पटक भारतको विमान हाइज्याक गरेको थियो। उसले मसँग देशबाहिर कतै भेट्यो। जब हामीले हात मिलायौं तब मैले भनेँ मेरो नाम दुलत हो। उसले भन्यो, त्यो त ठीक छ। आफ्नो वास्तविक नाम त बताउनुहोस्। मैले हाँस्दै भनेँ, कहाँबाट त्यो ल्याऊँ। वास्तविक नाम यही हो। पछि भन्न थाल्यो तिमी नै हौ जसले आफ्नो वास्तविक नाम बतायौ।’

देशबाट निकालिने डर

जति तै प्रशिक्षित भए पनि पहिचान खुल्ने डर सधैं रहिरहन्छ। अझ पेशेवर जासूसहरू धेरै चाँडै पहिचान गरिन्छन्।

राणा बेनर्जी बताउँछन्, ‘भारत र पाकिस्तानबीच एउटा कूटनीतिक प्रोटोकल बनेको छ कि गुप्तचर कार्यका मानिसहरू जो एक अर्काकहाँ पठाइन्छन्, तिनीहरूका नाम त्यस देशलाई पहिले नै बताइन्छ। हामी एक अर्कासँग खराब व्यवहार गर्नेछैनौं भन्ने पहिला नै तय गरिन्छ। यदि कोही सीमाभन्दा बाहिर काम गर्छ भने उसलाई फिर्ता बोलाइन्छ।’

उनी भन्छन्, ‘निकालिने डर त सधैं रहिरहन्छ। यदि कोही तीन वर्षको पोस्टिङमा जान्छ भने उसले आफ्ना बच्चाहरूको पढाइको व्यवस्था गर्छ। यदि छ महिनापछि उसलाई तुरुन्तै देश छोड्न भनियो भने दुख पाउने अवस्था हुन्छ।’

रअ र आईएसआईको तुलना

आईएसआई पाकिस्तानको गुप्तचर एजेन्सी हो त्यसैले रअको तुलना हुनु स्वाभाविक हो।

रअका प्रमुख रहेका विक्रम सूद आफ्नो पुस्तक 'द अनएन्डिङ गेम' मा लेख्छन्, ‘रअलाई कुनै प्रकारको पक्राउ गर्ने अधिकार छैन। न त यसले मध्यरातमा ढोका ढक्ढकाउँछ। रअले देशभित्र पनि जासुसी गर्दैन। आईएसआईले यी सबै गर्छ। रअ देशको प्रधानमन्त्रीप्रति जवाफदेही छ कागजमा आइएसआइले प्रधानमन्त्रीलाई रिपोर्ट गर्ने लेखिए पनि यसले सेनाध्यक्षलाई रिपोर्ट गर्छ।’

आईएसआईको इतिहास रअभन्दा धेरै पुरानो छ। यसको स्थापना सन् १९४८ मा बेलायती सेनामा काम गरिरहेका एक अस्ट्रेलियाली अधिकृत मेजर जनरल वाल्टर जोसेफले गरेका थिए।

रअका प्रमुख रहेका ए.एस. दुलत भन्छन्, ‘आईएसआईका प्रमुख रहेका असद दुर्रानी रअवाला हामीभन्दा बढी चतुर छन् भन्थे। हाम्रोमा जो आउँछन् तिनीहरू धेरैजसो फौजी हुन्। हल्ला धेरै गर्छन्। मेरो विचारमा पनि हामी आईएसआईभन्दा कम छैनौं। मलाई पाकिस्तानमा पनि यही प्रश्न सोधियो। मैले जवाफ दिएँ कि यदि दुर्रानी साहेब भन्नुहुन्छ कि हामी राम्रा छौं भने म मान्छु तर मैले यो पनि भनेँ कि आईएसआई धेरै ठूलो एजेन्सी हो।’

रअका अधिकारीलाई यसरी पछ्याए

रअ र आईएसआईको प्रतिस्पर्धाका धेरै भनाईहरु चर्चित छन्। राणा बेनर्जी सम्झन्छन्, ‘म १९८४ देखि १९८८ सम्म पाकिस्तानमा पोस्टेड थिएँ। हामीसँग हरसमय आईएसआईका मानिसहरू हुन्थे। हाम्रो घरको अगाडि बस्थे। तिनीहरूको शिफ्ट हुन्थ्यो बिहान साढे सात बजेदेखि बेलुका आठ बजेसम्म।’

बेनर्जी सम्झन्छन्, ‘निगरानी गर्नेहरूको गैप हेर्नुपर्छ अनि त्यसअनुसार आफ्नो काम गर्नुपर्छ भनेर हामीलाई तालिम दिइन्थ्यो। एक पटक तिनीहरूले मलाई पछ्याउन थाले। मैले डाइभर्जन रुट लिएर आफ्नो गाडी रोकेँ। जब तिनीहरूले मेरो गाडी देखेनन् तब आफ्नो कार मेरो घरतिर दौडाए। म त्यहाँ थिइनँ। फर्कंदा तिनीहरूले मलाई कारबाट आउँदै गरेको देखे अनि मैले तिनीहरूलाई चिढ्याउन आफ्नो हात हल्लाएँ। तिनीहरू खिस्रिक भए।’

रअका प्रमुख रहेका संकरन नायरले आफ्नो आत्मकथा 'इनसाइड आईबी एण्ड रअ, द रोलिङ स्टोन दैट गैदर्ड मस' मा लेख्छन्, ‘१९६० र ७० को दशकमा खान अब्दुल गफ्फार खानका छोरा वली खान लन्डनमा निर्वासित जीवन बिताइरहेका थिए। उनी पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका भुट्टोका कट्टर विरोधी थिए। उनी राजनीतिक र नैतिक समर्थनका लागि इन्दिरा गान्धीलाई एउटा सन्देश पठाउन चाहन्थे। मलाई उनीसँग भेट्न भनिएको थियो।’

नायर लेख्छन्, ‘यो भेटघाट कुनै अर्को देशमा हुनुपर्थ्यो किनभने लन्डनमा पाकिस्तानी दूतावासले उनीमाथि नजर राखिरहेको थियो। म पहिले लन्डन गएँ र त्यहाँबाट डेनमार्कको राजधानी कोपेनहेगन गएँ। जब म खाजा खाइरहेको थिएँ, मैले मेरो पछाडिको टेबलमा केही मानिसहरूलाई उर्दू बोल्दै गरेको सुनेँ। ती आईएसआईका एजेन्टहरू हुन् कि भनेर मलाई शंका लाग्यो। जब उनीहरूले आफ्नो खाजा छोडेर कोरिडोरहरूमा मेरो र वली खानको खोजी गर्न थाले मेरो शंका सत्य भयो।’

नायरले तुरुन्तै भेटघाटको स्थान परिवर्तन गरे, उनले वली खानलाई उनको मनपर्ने मिठाई केसी दासको रसगुल्लाको टिन उपहार दिए जसले उनी अत्यन्तै खुशी भए। भारत फर्केर नायरले वली खानको सन्देश प्रधानमन्त्री इन्दिरा गान्धीलाई दिए।

कुराकानी ट्याप गर्ने प्रयास

पाकिस्तानमा रअका जासूसहरूको फोन सधैं ट्याप गरिन्थ्यो। उनीहरू र उनीहरूका परिवारका सदस्यहरूले फोनमा गरेका हरेक कुराकानी सुनिन्थ्यो।

राणा बैनर्जीले अर्को घटना सुनाउँछन्, ‘इस्लामाबादमा हाम्रो एंग्लो-इन्डियन इसाई एक वेटर थियो। उसले जब मदिरा सर्भ गर्थ्यो, त्यसअघि आफैं पनि एक-दुई घुट्को लगाउँथ्यो। उसलाई रोक्न हामी पार्टी सकिएपछि मदिरा दिन्छौँ जुन घरमा लैजान सक्नुहुन्छ भन्थ्यौ। तर उनी मान्दैनथे।’

बैनर्जीले उनलाई निगरानी गरिरहेका थिए। उनी लेख्छन्, ‘एकपटक ऊ अजीब तरिकाले उभिएको देखेँ। उसले आफ्नो खुट्टाले केही कुरा टेबलमुनि सार्दै थियो। त्यो एउटा सानो सलाईको बट्टा जस्तो वस्तु थियो। वास्तवमा, उसले डाइनिङ रूममा एउटा 'हियरिङ डिभाइस' राख्दै थियो। मैले त्यो डिभाइसलाई बन्द गरेर अलग राखिदिएँ। पार्टी चलिरह्यो। अर्को दिन हाम्रा राजदूतले पाकिस्तानको विदेश मन्त्रालयमा यसको उजुरी गरे।’

बदनामी त भयो तर प्रशंसा भएन

सन् १९९९ मा कन्धार हाइज्याकपछि तीन खतरनाक चरमपन्थीहरूलाई छोड्न भारत बाध्य भयो। रअको धेरै बदनामी भयो। यति मात्र होइन, रअका तत्कालीन प्रमुख ए.एस. दुलत मसूद अजहर र मुश्ताक अहमद जरगरलाई आफ्नो विमानमा बसाएर श्रीनगरबाट दिल्ली ल्याइयो अनि जसवन्त सिंहले उनीहरूलाई आफूसँगै कन्धार लगे।

जुन तरिकाले आईसी-८१४ विमानलाई अमृतसरबाट लाहोरतर्फ उड्न दिइयो त्यसको पनि धेरै आलोचना भयो।

संसारका अन्य जासूसहरू जस्तै रअका जासूसहरूको छातीमा कहिल्यै कुनै पदक लगाइएनन्। थोरै मानिसहरूलाई थाहा छ कि कारगिल युद्धको समयमा पाकिस्तानबाट आएका घुसपैठियाहरूविरुद्ध पहिलो सफल अभियान सीमामा तैनाथ रअका ८० जनाले चलाएका थिए।

यीमध्ये केही मात्र जीवित फर्केनन्। तर उनीहरूका नामहरू कहिल्यै सार्वजनिक गरिएन।

यतीश यादव आफ्नो पुस्तक 'रअ अ हिस्ट्री अफ कोभर्ट अपरेशन्स' मा लेख्छन्, ‘कारगिलको युद्धपछि रअका ती मानिसहरू चुपचाप उभिए जसले आफ्ना साथीहरू र सहकर्मीहरू युद्धमा गुमाएका थिए। एक जासूस जसको कोडनेम 'रहमान' थियो, उसले रअका उच्च अधिकारीहरूलाई भन्यो कि ती मानिसहरूको बलिदानलाई सार्वजनिक रूपमा स्वीकार गरियोस् जसले देशका लागि आफ्नो जीवनको बलिदान दिए। जब यो प्रस्ताव राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्रीका प्रमुख सचिव बृजेश मिश्रासम्म पुग्यो, उनले यसको विरोध गरे।’

यतीश यादव लेख्छन्, ‘कुनै तरिकाले यो कुरा वाजपेयीसम्म पुग्यो। प्रधानमन्त्री निवासको एउटा बन्द हलमा ती १८ रअ अधिकारीहरूका नामहरू र कारगिलको युद्धमा उनीहरूका कीर्तिमानहरू जोडले पढियो। रअको इतिहासमा पहिलो पटक यी योद्धाहरूलाई विशेष पदकहरू प्रदान गरिए, वाजपेयीले रअका उच्च अधिकारीहरूसँग हात मिलाए र यी अज्ञात वीरहरूको बलिदानका लागि आभार व्यक्त गरे। तर यस समारोहको कुनै रेकर्ड राखिएन। न त यसको कुनै विवरण अर्को दिनको पत्रिकामा छापियो।’

* यो बिबिसी हिन्दीबाट साभार गरिएको हो

असोज ७, २०८१ सोमबार १२:२६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।