एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

एनएमबि खेती कर्जाका लागि बागमती गाउँपालिकासँग सम्झौता

काठमाडौं : एनएमबि बैंक लिमिटेड, डि.भी एक्सेलस प्रा.लि.(खेति एप) र मकवानपुरको बागमती गाउँपालिकाबीच किसान तथा कृषि व्यवसायमा संलग्नलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डि.भी एक्सेलस प्रा.लि.को तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाँउपालिकाको तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन्।

बैंक र डिभी एक्सेलसबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रूपमा डिजिटल कर्जा प्रदान गर्नको लागि सम्झौता भए बमोजिम एनएमबि खेती कर्जा प्रदान गर्दै आइरहेकोमा यसमा बागमती गाउँपालिका पनि जोडिएको हो।

तीन पक्षबीच गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई डिजिटल कर्जा मार्फत कर्जा लगानी सहज बनाएर आर्थिक अवस्था वृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने, प्राप्त गर्न योग्य किसानहरूलाई कर्जाको लागि सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श सेवाहरू प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयहरूमा सहमति भएको छ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानहरूलाई कृषिमा उत्प्रेरित गर्नको लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकिकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरूलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरू, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो। अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा शुरू गरिएको एनएमबि खेति कर्जा अब भने छिट्टै नै देशभर शुरू गर्ने तयारी गर्न लागिएको छ।

असोज ६, २०८१ सोमबार १०:१५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।