ट्रम्पले भने- ‘यो चुनाव हारेँ भने अर्को लड्दिन’

ट्रम्पले भने- ‘यो चुनाव हारेँ भने अर्को लड्दिन’

एजेन्सी : अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना लागि यो अन्तिम चुनाव हुने बताएका छन्।

आइतबार सिन्क्लेयर मिडिया ग्रुपसँगको अन्तर्वार्तामा ट्रम्पले यसबारे बोलेका हुन्। उनले भने, ‘यदि नोभेम्बरमा भएको निर्वाचनमा हारेँ भने २०२८ को राष्ट्रपति निर्वाचनमा सहभागी हुने छैन।’

७८ वर्षीय ट्रम्प लगातार तीन अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार बनेका छन्। उनले अहिलेकै निर्वाचनमा आफू सफल हुने दाबी गरेका छन्।

ट्रम्पले भने, ‘अर्को चुनावसम्म जानै पर्दैन, आशा छ हामी यस चुनावमा सफल हुनेछौँ’

अमेरिकी कानूनअनुसार कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति रहन सक्दैन। यस्तो अवस्थामा ट्रम्पले जिते पनि सन् २०२८ मा हुने राष्ट्रपतीय चुनाव लड्न पाउने छैनन्।

यसअघि ट्रम्पले चुनावमा पराजयको सम्भावनालाई स्वीकार गरेको विरलै भएको छ। तर, पछिल्ला चार दिनमा ट्रम्पले हारको उल्लेख गरेको यो दोस्रो पटक हो।

बिहीबार इजरायली-अमेरिकी काउन्सिलको कार्यक्रममा उनले आफ्नो पराजयको लागि यहूदी मतदाताहरू पनि जिम्मेवार हुने बताए।

त्यस कार्यक्रममा ट्रम्पले भनेका थिए, ‘मैले चुनाव जितेँ भने के हुनसक्छ भन्ने उनीहरूलाई थाहा हुन सक्छ। यहूदीहरूले यसमा धेरै काम गर्नुपर्ने छ।’

धेरै चुनावी सर्वेक्षणहरूमा कमला ह्यारिस ट्रम्प भन्दा अगाडि छन्।

असोज ६, २०८१ सोमबार ०८:१६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।