क्यानडासँग फेरि हार्‍यो नेपाल, सन्दीपले बनाए सर्वाधिक रन

क्यानडासँग फेरि हार्‍यो नेपाल, सन्दीपले बनाए सर्वाधिक रन

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडामा जारी त्रिदेशीय सिरिजमा घरेलु टोलीसँग नेपाल पुन: पराजित भएको छ।

क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाल आइतबार पाँच विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाउन सक्यो। जवाफमा क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो।

क्यानडाका लागि सबैभन्दा बढी नवनीत धालिवालले ८७ रन बनाए। १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए।

त्यसैगरी परगत सिंहले ८३ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए। हर्ष ठाकरले १३ रन बनाए। निकोलस र्कितनले नटआउट ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले दुई तथा करण केसी, ललित नारायण राजवंशी र गुल्सन झाले एक-एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङमा तानिएको नेपालका लागि सबै भन्दा बढी रन सन्दीप लामिछानेले जोडे। उनले ४८ बलमा ४९ रन बनाए।

एकदिवसीय क्रिकेटमा उनको यो सबैभन्दा उत्कृष्ट ब्याटिङ हो। यसअघि उनले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए।

गुलशन झाले ५६ बलमा ३४ रन बनाउँदा आरिफ शेखले ३३ बलमा १० रन मात्र बनाए। सोमपाल कामीले ४८ बलमा २१ रन बनाए। करण केसी २८ बलमा २४ रन बनाए।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकर र डिलोन हेलिगरले दुई-दुई  तथा सादविन जाफर र प्रविन कुमारले समान १ विकेट लिए।

यही सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो। त्यो नै एकदिवसीय सिरिजमा नेपालले क्यानडाविरुद्ध भोगेको पहिलो हार थियो।

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा सहभागी आठ राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन्। अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ।

नेपाल सात खेलमा १ जित र छ हारका साथ २ अंक पाएर तालिकाको सातौं स्थानमा छ। नेपालविरुद्धको जितपछि क्यानडा भने ११ खेलमा सात जित र ४ हारका साथ १४ अंक पाएर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

असोज ६, २०८१ सोमबार ०७:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।