समर्थकको आडमा शालिकराम प्रकरण अनुकुल बनाएका रविलाई सहकारी प्रकरण फाप्ला !

समर्थकको आडमा शालिकराम प्रकरण अनुकुल बनाएका रविलाई  सहकारी प्रकरण फाप्ला !

काठमाडौँ : शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीमा जाहेरी परेको बेलामा रवि लामिछाने न्युज २४ मा कार्यक्रम सञ्चालक थिए। उनकै टिमका सदस्य पुडासैनी चितवन गएर एक होटेलमा रविसहितको टिमका कारण आत्महत्या गर्न बाध्य भएको भिडियो बनाएर आत्महत्या गरेका थिए।

प्रहरीमा रविसहित उनको कार्यक्रमका अन्य सदस्यविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेपछि रविले आफ्नो पक्षमा माहौल बनाउन निरन्तर आफ्नै कार्यक्रम प्रयोग गरिरहे। अदालतबाट पक्राउ आदेश जारी भइसकेको अवस्थामा पनि उनले आफ्नो कार्यक्रमको लोकप्रियतालाई आफू विरुद्ध दर्ता भएको जाहेरीलाई कमजोर बनाउन प्रयोग गरेपछि प्रहरी टेलिभिजनको कार्यालयभित्रै प्रवेश गरेर उनलाई पक्राउ गरेको थियो।

सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले व्यक्तिगत रूपमा सहकारीको रकम अपचलनमा रविको संलग्नता नभए पनि गोर्खा मिडिया प्रालिको प्रवन्ध निर्देशकको रूपमा भने संलग्न रहेको भन्दै कारबाही गर्न सिफारिससहितको प्रतिवेदन बुझायो।

मन्त्रीपरिषद् बैठक बसेर प्रतिवेदन कार्यान्वयन गर्न चार मन्त्रालयमा प्रतिवेदन पठाएपछि आइतबार गृह मन्त्रालयले प्रहरीलाई प्रतिवेदनले अनुसन्धान गर्न सिफारिस गरेकाहरूलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै गोर्खा मिडिया प्रालीका सञ्चालक छविलाल जोशी पक्राउ परे।

प्रतिवेदनमा जोशीसँगै गोर्खा मिडियाका अध्यक्ष जीवी राई र रविमाथि समेत छानबिन र कारबाहीको सिफारिस छ। जीवी फरार छन्। छविलाल पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने जोखिम देखेर रविले ह्वाट्सएपबाट पार्टी नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा भेला हुन निर्देशन जारी गराए।

अनि सहकारीको रकम अपचलनमा आफू संलग्न नरहेको तर सरकारले षड्यन्त्र गरिरहेको भन्दै उही पुरानै शैलीमा आफ्नो बचाउको प्रयास गरे।

रवि कार्यक्रम सञ्चालकबाट चौथो ठुलो दलको सभापति भइसके पनि शैली भने उही कार्यक्रम सञ्चालककै देखियो। तर आइतबार उनको स्वर र अनुहारको भावको तालमेल भने मिलेको देखिएन।

उनी हताश अनि डराएको देखिन्थे। बेलाबखत आफू नडराएको र अनुसन्धानमा सघाउन तयार रहेको पनि बताउँथे। अनि अर्कोतिर यो सरकारको भर छैन, अलर्ट रहनु भन्दै पार्टी कार्यकर्ताहरूलाई आफ्नो सुरक्षा गर्न पनि आग्रह गर्थे।

उनले हिम्मत भए आएर पक्राउ गर्न पनि भन्थे अनि सरकार अधिनायकवादतिर लागेको आरोप समेत लगाउँथे। उनले बुझ्दा पक्राउ पुर्जी जारी नभएको भनेको तर सरकारको भर नभएको भनिरहेका थिए।

विभिन्न सहकारीको ६० करोड बढी रकम अवैध रूपमा गोर्खा मिडियामा ल्याएर खर्च गरेकोबारे संसदीय छानबिन समितिले प्रतिवेदनमै नाम किटे पनि उनले आइतबार पनि संसदीय समितिले छानबिन गरेर सफाइ दिएको तर सरकार नयाँ दलसँग डराएर षड्यन्त्रमा लागेको दाबी गरिरहे।

संसदीय समितिको प्रतिवेदनको आधारमा मिडियामा समाचार बनिरहेको छ। तर उनले त्यसलाई पनि हेडलाइन बनाएर ट्रायल गरेको भन्दै मिडियाको आलोचना गरे।

प्रधानमन्त्री केपी ओलीदेखि प्रहरी महानिरिक्षकसम्मले आफू सहकारीको रकम अपचलनमा संलग्न नरहेको बताइसक्दा पनि षड्यन्त्र भइरहेको भन्दै उनले के नयाँ तथ्य आयो र पक्राउको तयारी गरेको भन्दै प्रश्न समेत गरेका थिए।

पहिलो पक्राउले शक्ति आर्जन, दोस्रो के होला ?

आत्महत्या दुरुत्साहनको अभियोगमा रवि जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा हुँदा बाहिर उनको पक्षमा नाराबाजी र प्रदर्शन भइरहेका थिए।

शालिकरामले मृत्यु अगाडि गरेको कन्फेसन र आरोप निकै गम्भीर थिए। मृत्यु अगाडिको स्टेटमेन्टलाई अदालतमा निकै बलियो प्रमाण मानिन्छ। तर प्रहरीको अनुसन्धानकै चरणमा रविमाथिको अनुसन्धान प्रभावित पार्नेगरि प्रदर्शनहरू भए।

रवि धरौटीमा छुटे तर सर्त सहित। यस घटनाबारे केही नबोल्ने अनि कार्यक्रम पनि नबनाउने लगायतका सर्तमा अदालतबाट उनी धरौटीमा छुटेका थिए।

धरौटीमा छुटेपछि चितवनमा जुन सभा भयो उनको राजनीतिक महत्त्वाकाङ्क्षा जगाउने प्रमुख घटना त्यही बन्यो। पछि उनले अदालतबाट सफाइ पनि पाए।

अहिले सहकारीको रकम अपचलनमा पनि संसदीय समितिले गोर्खा मिडियाको प्रबन्ध निर्देशकको रूपमा उनको संलग्नताको प्रमाणसहित प्रतिवेदन बुझाएको छ। तर उनी अनि रास्वपाका नेताहरू प्रतिवेदनले रविलाई सफाइ दिएको भन्दै मिथ्या सूचना फैलाउन सक्रिय भए।

व्यक्ति रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न छैनन् तर गोर्खा मिडियाको प्रबन्ध निर्देशकको रूपमा उनी संलग्न छन् भनेर संसदीय समितिको सभापतिले दिएको टेलिभिजन अन्तर्वार्ताको आफू अनुकूल क्लिप सामाजिक सञ्जालमा राखेर रविले क्लिनचिट पाएको भ्रम छर्न पार्टी नेता र शुभेच्छुकहरू निकै सक्रिय भए।

रवि अनि रास्वपाको उद्देश्य सरकार पक्राउको चरणमा जानुभन्दा अगाडि नै दबाब बढाउने रणनीतिमा देखिए। उनी आरोपबारे अदालतमा फेस गर्ने तयारीमा देखिएनन्।

अकस्मात् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी पक्राउ परे। उनी गोर्खा मिडिया प्रणालीको रकम लेनदेन लगायतमा संलग्न देखिएका थिएनन्। रविको नाम सहकारीबाट ऋण लिएको सूचीमा पनि छ।

सञ्चालक समेत भएको आधारमा छवि पक्राउ परेकाले प्रबन्ध निर्देशकको रूपमा कम्पनीको आर्थिक कारोबारमा समेत प्रत्यक्ष संलग्न देखिएका रवि पक्राउ पर्ने सम्भावना थियो नै।

सोही अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयारी पनि गरेको थियो। पक्राउ पर्ने भयले उनले ह्वाट्सएपबाट निर्देशन जारी गरेर पार्टी नेता तथा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला पारे। प्रहरीलाई पक्राउबाट ब्याक गराउन उनले बनाएको रणनीति काम लाग्यो। प्रहरी तत्काल पक्राउ नगर्ने रणनीतिमा लाग्यो।

रविले पक्राउ पुर्जी जारी भएको छैन भन्छ तर विश्वास छैन भन्ने आफ्नो पक्षमा लाग्न पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिए।

उनले भने ‘म डराएको छैन।’ तर पार्टी कार्यालयमा कार्यकर्ता भेला पारेर आफू भित्र बस्ने रणनीतिले उनी कति डराएका छन् भन्ने देखायो नै।

उनले अन्तमा न्यायको पक्षमा लाग्न भन्दै सर्वसाधारणलाई आफ्नो पक्षमा उभिन आग्रह गरे। उनी आफ्नो पक्षमा उही चितवनको माहौल बनाउने रणनीतिमा देखिए। उनले जति दबाब बढाए पनि प्रहरी उनको पक्राउको तयारीमै देखिन्छ। पहिलो पक्राउको घटना उनलाई फाप्यो पनि। तर दोस्रो पक्राउको घटना पनि उसैगरी फाप्ला!

असोज ६, २०८१ सोमबार ००:३८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।