पार्टी कार्यालयमा कार्यकर्ताको घेरामा बसेका रविले भने  ‘हिम्मत भए आउँ, समाएर लैजाउ’

पार्टी कार्यालयमा कार्यकर्ताको घेरामा बसेका रविले भने  ‘हिम्मत भए आउँ, समाएर लैजाउ’

काठमाडौँ : गोर्खा मिडिया प्रालीका सञ्चालक छविलाल जोशी पक्राउ परे लगत्तै आफू पनि पक्राउ पर्ने आशङ्काले पार्टी कार्यालयमा कार्यकर्ता बोलाएर बसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिम्मत भए आफूलाई पक्राउ गर्न भन्दै चुनौती दिए।

पार्टी परिसरमा सहभागी भएकाहरूलाई सम्बोधन गर्दै उनले भने ‘मलाई सरकारसँग भरोसा छैन। जे पनि गर्न सक्छ।’

उनले सम्बोधनमा पटक पटक अनुसन्धानमा आफू सहयोग गर्न तयार रहेको पनि बताए अर्कोतिर आफूलाई जुनसुकै बेलामा धरपकड गरेर पक्राउ गर्न सक्ने भनेर भय पनि देखाए।

‘सबैलाई हेक्का रहोस्, दुई तिहाइको यो सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन’ उनले भने।

उनले प्रहरीको अनुसन्धान, संसदीय समितिको छानिबन कहीँ कतै संलग्नता नदेखिएको उल्लेख भए पनि सरकारले षड्यन्त्र गरिरहेको दाबी गरे।

‘सरकारले जुन ट्रायल गर्न खोजेको छ मैले बुझेको छैन। मैले बुझे अनुसार कुनै पनि तयारी गरेको छैन भन्छ। तर मैले बुझ्न सकेको छैन’ उनले भने।

उनले कसैको राजनीति जोगाउनका लागि प्रतिशोध साँध्ने र षड्यन्त्र गरेर लडाउने कोसिस भएको दाबी गर्दै निर्धक्क हुनसक्ने अवस्था नभएको बताए।

उनले आफू जनताले चुनेको जनप्रतिनिधि भएकाले धरपकड नगर्न भन्दै भने ‘हिम्मत भए आउँ समाएर लैजाउ।’

उनले आफुले केही नबिराएको र नडराएको दाबी गरे। तर उनी पार्टी कार्यालयबाट बाहिर निस्किएका भने छैनन्।

असोज ५, २०८१ आइतबार २३:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।