पोखरा पुगे छवि, कार्यकर्ताको घेरामा काठमाडौँमा रवि

पोखरा पुगे छवि, कार्यकर्ताको घेरामा काठमाडौँमा रवि

काठमाडौँ : सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशी पोखरा पुगे।

आइतबार काठमाडौँमा पक्राउ परेका उनलाई प्रहरीले विमानबाट आइतबारै पोखरा पठाएको हो। जोशीलाई काठमाडौँमा पक्राउ गरेर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले बताए।

जिल्ला अदालत पोखराबाट पक्राउ अनुमति जारी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने आइतबार पक्राउ परेनन्।

छवि पक्राउ परे लगत्तै रवि वनस्थलीमा रहेको पार्टी कार्यालयमा गएर बसेका थिए भने पार्टीले काठमाडौँ उपत्यकामा रहेका नेता तथा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको थियो।

सर्कुलर अनुसार पार्टी कार्यालयलाई पार्टीका कार्यकर्ताहरूले घेरा हालेर बसेका छन्। रविसहित पार्टीका नेताहरू पार्टी कार्यालयभित्र बसेका छन्।

गोर्खा मिडिया प्रालीमा विभिन्न सहकारीबाट गएको रकमबारे छानबिन गरेको संसदीय समितिको प्रतिवेदनमा सो प्रालीका अध्यक्ष जीवी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि र सञ्चालक छवि सहकारीको रकम अपचलनमा संलग्न देखिएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो।

समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै सरकारले प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाएसँगै गृह मन्त्रालयले आइतबारै प्रहरी प्रधान कार्यालयमा सो प्रतिवेदन अनुसार थप अनुसन्धान गर्नुपर्नेहरुलाई पक्राउ गरी अनुसन्धान गर्ने निर्देशन दिएको थियो।

निर्देशन लगत्तै आकस्मिक पक्राउ पुर्जीको आधारमा छवि पक्राउ परेका थिए। रवि समेत पक्राउ पर्ने आशङ्कामा रास्वपाले पार्टी कार्यालयमा बोलाएको थियो।

पार्टी कार्यालयमा उपस्थित भएका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले आफू नडराएको दाबी गरेका थिए। उनले संसदीय समितिको बैठकमा गएर प्रहरी महानिरीक्षकले नै प्रमाण नभएको भनेको भन्दै के आधारमा प्रहार भएको हो आफूले नबुझेको दाबी गरेका थिए।

उनले आफू कतै नभागेको र नलुकेको भन्दै सरकारले प्रहार गरिरहेको भन्दै सरकारको आलोचना गरेका थिए। प्रतिवेदनमा जीवी राई, छविसहित उनलाई समेत कारबाहीको दायरामा ल्याउन सिफारिस गरे पनि उनले संसदीय समितिको प्रतिवेदनमा पनि आफू संलग्न भएकोबारे केही उल्लेख नभएको दाबी गरे। उनले सरकार अधिनायकवादतिर जाने संकेत देखिएको बताए।

असोज ५, २०८१ आइतबार २३:३०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।