उपकरण खरिदमा विवादित डा. संगीता र श्रवणकुमारको सरुवा, विभागमा विकास, व्यवस्थापनमा पवनजंग

उपकरण खरिदमा विवादित डा. संगीता र श्रवणकुमारको सरुवा, विभागमा विकास, व्यवस्थापनमा पवनजंग

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयका १२ औँ तहका अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन्।

डा. संगीता कौशल मिश्रा महानिर्देशकबाट मन्त्रालयमा गएकी छिन्। डा. मिश्रा पनि १२ औँ तहकै अतिरिक्त सचिव हुन्। मिश्रा यस अगाडि भएका स्वास्थ्य उपकरण खरिदमा जोडिँदै आएकी पात्र हुन्।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा रहेका अर्का विवादित डा. श्रवणकुमार थापाको स्थानमा डा.  पवनजंग रायमाझी आएका छन्। अर्थोपेडिक सर्जन डा. थापाको राष्ट्रिय ट्रमा सेन्टरमा काज फिर्ता भएको छ।

मिश्रा र थापा दुबै मोहन बस्नेतको कार्यकालमा सरुवा भएका थिए। यी दुबै विभाग अन्तर्गत भएका खरिदमा मिलेमतोमा मुछिएका कर्मचारीहरु। मेडिकल सामाग्री तथा उपकरण खरिदमा निश्चित सप्लायर्ससँग मिलेर सामान खरिद गरेका यी दुबैबारे मन्त्रालयले छानबिन गर्न भने चासो देखाएको छैन।

 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार गुणस्तर मापन तथा नियमन महाशाखाको प्रमुख रहेका डा. मदन उपाध्यायको सरुवा वीर अस्पतालमा भएको छ। महाशाखामा वीरमा रहेका डा. सरोज शर्मा आएका छन्।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. भीमप्रसाद सापकोटालाई दिइएको छ भने महाशाखाको प्रमुखको भूमिकामा रहेका डा. चुमनलाल दासलाई नारायणी अस्पतालको प्रमुखको जिम्मेवारीमा खटाइएको छ।

भेरी अस्पतालका निमित्त प्रमुखबाट डा. प्रकाश थापालाई हटाउँदै डा. नीराजन सुवेदीलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको प्रमुखमा यशोदा अर्याल पुगेकी छिन्। तालिम केन्द्रका प्रमुख डा. अनुज भट्टचनलाई सार्क क्षयरोग केन्द्रको प्रमुखमा सरुवा गरिएको छ।

सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारीमा रहेकी डा. मनीषा रावललाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ।

यस अघि डा. प्रकाश बुढाथोकी कारागार अस्पतालको प्रमुख, स्वास्थ्य मन्त्रालयको प्रवक्ता, हेल्थ इमर्जेन्सी एन्ड डिजास्टर मेनेज्मेन्टको प्रमुख र एचइओसिको प्रमुखको जिम्मेवारीमा थिए। अब डा. बुढाथोकी मन्त्रालयको प्रवक्ता अनि मन्त्रालयकै हेल्थ इमर्जेन्सी एन्ड डिजास्टर मेनेज्मेन्टको प्रमुख र एचइओसिको प्रमुखको जिम्मेवारीमा रहने  भएका छन्।

कोशी अस्पतालको निमित्त प्रमुखबाट डा. रविनराज सिंहलाई हटाउँदै डा.रुना झाको सरुवा गरेका छन्। डा. झा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत थिइन्।

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका निमित्त प्रमुख डा. नागेन्द्र प्रसाद यादवलाई हटाउँदै डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिइएको छ।

खरिद विवादमा जोडिँदै आएकी डा. सुधा देवकोटालाई विभाग अन्तर्गतको उपचारात्मक महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ। महाशाखाको प्रमुखमा रहेका डा. अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काज फिर्ता गरिएको छ।

डडेलधुरा अस्पतालको निमित्त प्रमुखमा डा. नरेन्द्र खनाललाई जिम्मेवारी दिइएको छ। डा. खनाल दसौँ तहका चिकित्सक हुन्। उनी बाहेक जिम्मेवारी पाउने सबै ११ औँ तहका कर्मचारी हुन्।

राष्ट्रिय ट्रमा सेन्टर, गेटा अस्पताल, भरतपुर लगायतका अस्पतालका प्रमुखको सरुवा भने निस्किएन। तीनै ठाउँको प्रमुखको सरुवाको तयारी गरे पनि अन्तमा मन्त्री पौडेलले हाल कायम रहेकालाई निरन्तरता दिने कि नयाँलाई पठाउने निर्णय गर्न सकेनन्।

लामो समयदेखि व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)  मा कार्यरत डा. सुरेन्द्र चौरासियाको पनि सरुवा भएन। उनी खरिद मिलेमतोमा अति बदनाम पात्र हुन्। उनी लामो समयदेखि दरबन्दी विपरित खरिद इकाइको प्रमुखको जिम्मेवारीमा छन्।

असोज ५, २०८१ आइतबार २३:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।