रूपन्देहीका तीन ठूला आयोजना : मोतिपुर औद्योगिक क्षेत्र र मेडिकल कलेजको काम सुस्त, रफ्तारमा सुरूङ मार्ग मात्र

रूपन्देहीका तीन ठूला आयोजना : मोतिपुर औद्योगिक क्षेत्र र मेडिकल कलेजको काम सुस्त, रफ्तारमा सुरूङ मार्ग मात्र

बुटवल : रूपन्देहीको विकासलाई प्रभाव पार्ने आयोजना मध्ये तीन ठूला आयोजना, मोतिपुर औद्योगिक क्षेत्र, बुटवल मेडिकल कलेज र सिद्धबाबा सुरुङ मार्ग हुन्। यी तीन वटै पूर्वाधार सम्पन्न भएमा बुटवल मात्र नभई रुपन्देही नै उद्योग, सडक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्नेछ। 

तर, विडम्बना यी तीन आयोजना मध्ये मोतिपुर औद्योगिक क्षेत्र र बुटवल मेडिकल कलेज निर्माणको आयोजनाको काम कछुवा गतिमा छ। सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम भने तीब्र छ।

कार्यालय खोल्नु नै उपलब्धी
स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मार्ने गरी सुरू गरिएको आयोजना हो, बुटवल मेडिकल कलेज। त्यस मेडिकल कलेजको कार्यालय निकै तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तिलोत्तमाको शंकरनगरमा २०७५ चैत ८  मा उद्घाटन गरेका थिए। 

१४ अर्बको लागतमा तिलोत्तमाको वडा नम्बर १ र ८ को शंकरनगर सामुदायिक बन र करहिया सामुदायिक बन क्षेत्रको २०० विगाहा क्षेत्रफलमा बनाउने भनिएको यो आयोजनाको अहिले देखिनेगरी प्रगति भएको भनेकै कार्यालय उद्घाटन मात्र हो। यतिसम्म कि, कार्यालय उद्घाटन भएको ६ बर्षसम्म पनि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत पास भएको छैन।

बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका प्रमुख दिनेश देवकोटा फिल्डमा देखिनेगरी काम नभएको स्वीकार गरे। उनले अहिलेसम्म डीपीआर स्वीकृत नभएको भन्दै अब कामले गति लिनेमा विश्वस्त रहेको बताए।

‘यो बर्ष १० लाख मात्र बजेट छ। जसरी यो आयोजनालाई बजेट हुनुपर्थ्यो,त्यो रकम सरकारले छुटाएको छैन। अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ। अब कामले गति लिने विश्वास लिएको छु,’ उनले भने।

आयोजना कार्यालयले ६ सय बेडको जनरल अस्पताल बनाउने डिपिआर तयार गरेको छ। इआइए अध्ययन गर्दा २ सय बिघा जमिनमा मेडिकल कलेज बनाउने योजना थियो। तर, वन मन्त्रालयले २ सय बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिन मात्रै उपलब्ध गराएको छ। 

आयोजना स्थलमा ११ हजार रुख काट्नुपर्ने इआइए अध्ययनले देखाएको छ। तर, सबै रुख भने काट्नु नपर्ने आयोजनाको दावी छ।

शिलान्यासपछि देखिनेगरी काम नै भएन
स्थानीयको अवरोधकाबीच तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले संयुक्त रुपमा मातिपुर औद्योगिक क्षेत्रको ०७७ फागुन २१ मा शिलान्यास गरे। शिलान्यास भएको साढे ३ बर्ष भन्दा बढि भइसक्दा पनि औद्योगिक क्षेत्रको कामले गति लिन सकेको छैन।

कुल १२ अर्ब रुपैयाँको लागत अनुमानमा बन्न लागेको उक्त परियोजनाको डीपीआर तयार भएपनि औद्योगिक क्षेत्र निर्माणमा अहिले पनि स्थानीयहरू असन्तुष्ट छन्।

सरकारले स्थानीयसँग छलफल र सहमति नै नगरी बर्षौदेखि बसेको बस्ती, खेत, विद्यालय, मठमन्दिर र वन क्षेत्रसमेतको औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको भन्दै स्थानीय विरोधमा उत्रिएपछि काम अघि बढ्न नसकेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ८ सय १९ बिघा क्षेत्रलाई औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो। 

स्थानीयको विरोधका बाबजुद अहिले ८१९ विगाहा क्षेत्रफलको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा लिइसकिएको छ।

कुल ८१९ विगाहा जग्गामध्ये करिब २५० बिघा क्षेत्रफलमा अव्यवस्थित बसोबासीको बस्ती, वन, विद्यालयको जग्गा, मठ मन्दिर भएको आन्दोलित स्थानीयको भनाई छ। 

संघर्ष समितिका अध्यक्ष रामप्रसाद पाण्डेले २०२२ सालदेखि जोतभोग गरेका करिव ३ हजार घरधुरी रहेको र उनीहरुलाई स्थानान्तरण नगरुञ्जेल औद्योगिक क्षेत्रको काम अघि नबढ्ने बताए।

यता, अहिले औद्योगिक क्षेत्रलाई बस्ती नभएको क्षेत्रबाट सुरू गर्नुपर्ने उद्योगीको माग छ। 

‘एकै पटक विवाद मिलाउँछु अनि काम सुरू गर्छु भनेर अघि बढेमा यो आयोजनाले गति लिँदैन। त्यसैले बुटवलको वडा नम्बर १७ र १८ को २३८ बिघा तथा सेक्सन डीको १०९ बिघा तथा र सेक्सन ईको ४४ बिघामा विवाद छैन। काम त्यहींबाट सुरू हुनुपर्छ’ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने।

मोतिपुर औद्योगिक क्षेत्र हेर्ने जिम्मा पाएका बुटवल औद्योगिक क्षेत्रका प्रमुख प्रकाश अधिकारी औद्योगिक क्षेत्रका बारेमा नयाँ निर्णय केही नभएको बताउँछन्। 

‘ईआईए नै अझै स्वीकृत भएको छैन। कसरी आयोजना अगाडि बढाउने गरी थप प्रगति छैन। स्थानीयको विरोध छ। काम सुरू भएको छैन’ उनले भने।

मंसिरसम्म 'ब्रेक थ्रु' गर्नेगरी दिनरात काम
बुटवल मेडिकल कलेज र मोतिपुर औद्योगिक क्षेत्रको काम सुस्त गतिमा अघि बढेपनि सिद्धबाबा सुरुङ मार्गको काम भने तीब्र गतिमा छ।

गत जेठ १३ देखि ब्लास्टिङ गरी खन्न थालिएको सुरूङमार्गमा अहिले दिन र रात दुवै सिफ्टमा काम भइरहेको छ। कुल १ हजार १२६ मिटर लामो सुरुङमा अहिले दुवै तर्फबाट ५४७ मिटर छेडिएको छ।

आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले तीब्र गतिमा सुरूङ मार्गको काम भएको र आउँदो मंसिरसम्म 'ब्रेक थ्रु' गरिने बताइन्। 

‘बीचमा काममा कुनै बाधा नआए मंसिरसम्म सुरूङ पुरा छेडिनेछ’ उनले भनिन्।

उनका अनुसार सिद्धबाबा सुरूङमार्ग उत्तरतर्फबाट २३८ र दक्षिणतर्फ बाट ३०९ मिटर खनिसकिएको छ। यसैगरी सुरूङ मार्गमा रहेका तीन वटा बाईपास मध्ये पहिलो बाइपास १३७ मिटर, दोस्रो बाइपास ११७ मिटर र तेस्रो १२३ मिटर खनिएको छ। बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ।
 
सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ। जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ। यो क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ। भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमासमेत सुक्खा पहिरोको उत्तिकै जोखिम हुन्छ। 

सुरूङ मार्ग निर्माणको काम चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ४ माघ २०८० बाट औपचारिक रुपमा काम सुरू गरेको थियो।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा निर्माणाधीन यो आयोजनामा सुरूङ मार्ग सँगै पहिरो झर्ने स्थानमा रकनेटको काम पनि हुनेछ। आयोजना अनुसार हालसम्म सुरूङ मार्गको भौतिक प्रगति २२.८५ प्रतिशत र वित्तीय प्रगति २६.४ प्रतिशत रहेको छ। 

असोज ६, २०८१ आइतबार १०:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।