दशैं-तिहार नजिकिए सँगै भित्रिन थाले पटाका, धुलिखेलबाट २६ बाक्सा बरामद

दशैं-तिहार नजिकिए सँगै भित्रिन थाले पटाका, धुलिखेलबाट २६ बाक्सा बरामद

काठमाडौं : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ। 

नियमित सवारीसाधन जाँचका क्रममा शनिबार बेलुका सिराहबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार श्रेष्ठकाअनुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो। 

यस्तै, खुर्सानी लेखिएको पटाका १४ बोरामा प्रतिबोरा १७-१८ का दरले जम्मा दुई सय ३९ बण्डल (प्रतिबण्डलमा ५० प्याकेट र प्रति प्याकेटमा २४ पिसका दरले) गरी दुई लाख ८६ हजार आठ सय पिस बरामद गरिएको प्रहरीले जनाएको छ। 

यसरी लुकाइछिपाई पटाका पटाकासहित ट्रक नियन्त्रणमा लिए पनि ट्रकचालक भने फरार रहेको डिएसपी श्रेष्ठले बताए। दशैं-तिहार नजिकिए सँगै यस्ताखाले पटाका भित्रिने भएकाले प्रहरीले चेकजाँचलाई थप कडाई गरेको छ।  

असोज ५, २०८१ आइतबार ०८:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।