एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई प्रदान गरिने

एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई प्रदान गरिने

काठमाडौं : नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षको नीति, कार्यक्रम पारित भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए। 

साधारणसभामा आगामी वर्ष उमेर समूहका प्रतियोगिता, फारवेस्टर्न प्रिमियर लिग, फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने, भौतिक पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा पनि छलफल भएको छ। 

 साधारणसभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चन्दले सरकार भौतिक संरचना निर्माणका लागि अग्रसर भएको उल्लेख गर्दै थप सहयोग आवश्यक रहेको बताए। 

'आगामी पाँच वर्षमा देशका विभिन्न स्थानमा पाँच क्रिकेट रङ्गशाला बन्नेछन्। जसले खेलाडी उत्पादनमा सहयोग पुग्नेछ। पछिल्लो समय क्रिकेट खेलको विकासका लागि सरकारले सहयोग गरिरहेको छ यसमा सबै राजनीतिक दलको पनि सकारात्मक समन्वय छ,उनले भने। 

खेल क्षेत्रमा राजनीति गर्न नहुने भन्दै राजनीतिलाई खेलकुदको संस्थागत विकासका लागि  केन्द्रित गर्नुपर्ने उनको भनाई छ।

उनले भने, 'खेलाडी छनोट पारदर्शी हुनुपर्छ। यसमा दायाँबायाँ हुँदैन। खेलाडी छनोट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्।'

नेपाल प्रिमियर लिग एनपिएलको खुद नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउँदै अध्यक्ष चन्दले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिए।

'ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जोड दिएका छौँ। यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ। क्यानले गर्ने सहयोगमा कमी हुँदैन, उनले भने।  

असोज ५, २०८१ आइतबार ०७:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।