सन्तान जन्माउने दबाबका कारण घरबाट बाहिरै निस्किँदैनन् निश्चल, स्वस्तिमा भन्छिन् 'भोलि प्रेग्नेन्सीको न्युज आयो भने?'

सन्तान जन्माउने दबाबका कारण घरबाट बाहिरै निस्किँदैनन् निश्चल, स्वस्तिमा भन्छिन् 'भोलि प्रेग्नेन्सीको न्युज आयो भने?'

काठमाडौं : निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले बिहे गरेको झण्डै एक दशक भइसकेको छ। विवाह गरेको लामो समय भइसकेपछि निश्चललाई सन्तानका बारेमा परिवार र आफन्तबाट दबाब हुने नै भयो। उनी पछिल्लो समय सन्तान कहिले जन्माउने हो भन्ने आफन्तको प्रश्नले हैरान छन्। त्यसैले पनि उनी सन्तान कहिले जन्माउने प्रश्नको सामना गर्न नसकेर घरमै बस्न थालेका छन् उनी। 

बिहीबार निश्चल र स्वस्तिले आफूले निर्माण अभिनय गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’को ट्रेलर रिलिज कार्यक्रममा सन्तानका लागि परिवार आफन्तबाट दबाब बढेको बताए। फिल्ममा ‘बेहुली फ्रम मेघौली’ भएका हुनाले प्रश्न विवाह र सन्तानकै विषयमा केन्द्रित रहेको थियो। 

पत्रकारले तपाईंहरूले विवाह गरेको यतिका वर्ष भइसकेको छ, परिवार र आफन्तबाट सन्तानको बारेमा कतिको दबाब आउने गरेको छ भन्ने प्रश्नको जबाफमा निश्चलले धेरै नै आउने गरेको बताए। 

‘पहिला विवाहको दबाब धेरै आउँथ्यो,’ उनले भने, ‘अहिले सन्तानको दबाब आइरहेको हुन्छ। परिवार र आफन्त भेट्दा यो कुरा आउने गर्छ। त्यही भएर म घरमै धेरै बस्छु।’ 

बिहेको समयमा पनि आफूले फिल्म बनाउने तर्फमात्रै ध्यान दिएको भन्दै उनले अहिले सन्तानको बारेमा परिवार र आफन्तको दबाब खेप्नुपरेको सुनाए। 

उनले थपे, ‘पहिलो फिल्म ‘लुट’ बनाउँदा ३० वर्षको भइसकेको थिएँ। त्यसबेला जता गए पनि बिहेको कुरा गर्थे। एउटा समयपछि त आफन्तकोमा जानै बन्द गरेको थिएँ।’

उनको कुरा सुनेकी स्वस्तिमा त्यतिकै अडिन सकिनन्। उनले हाँस्दै जवाफ दिइन्, ‘घरमा बसेर झन् हुनुपर्ने छैन भन्लान् फेरि।’
 
पत्रकारहरू रोकिने कुरै भएन। पछाडिबाट प्रश्न आयो, ‘स्वस्तिमा हिँडेको हिँडै हुनुहुन्छ?’ जवाफमा उत्साहित हुँदै स्वस्तिमाले भनिन्, ‘त्यसो नभन्नु न, भोलि प्रेग्नेन्सीको न्युज आयो भने, हिँडेको हिँडै छ कसरी बच्चा जन्मायो भन्ने प्रश्न आउला।’

फिल्मको ट्रेलर कार्यक्रममा उनीहरूकै गन्थन मन्थनका कुराले सकियो। स्वस्तिमा र निश्चलको यसअघि फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको थियो। यही १७ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्देशन निर्देशकद्वय सजन काफ्ले र आकाश बरालले गरेका छन्। 

यो फिल्मको स्क्रिप्ट मन परेपछि आफूले निर्माता बन्ने सोच बनाएको स्वस्तिमाले बताइन्। यही फिल्मबाट स्वस्तिमाले निर्माताका रुपमा आफूलाई उभ्याएकी छन्।

साढे २ करोड लागतमा बनेको यो फिल्ममा समावेश गीत‘छड्के सलाम’बोलको गीत चर्चामा छ।   

असोज ४, २०८१ शनिबार २१:२६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।