प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको सम्झाउँदै पूर्व रक्षामन्त्री भने 'रविलाई अदालतमा उभ्याउनैपर्छ'

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको सम्झाउँदै पूर्व रक्षामन्त्री भने 'रविलाई अदालतमा उभ्याउनैपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकाले कारबाही हुनुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरणपनि खत्तम रहेको टिप्पणी गरे। 

उनले भने, ‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे। लाजशरम केही पनि छैन। नागरिकता नै दोहोरो छ। राहदानी नै दोहोरो, आचरण नै खत्तम छ। महिलाप्रति आचरण नै खराब छ। अहिले हेर्नुहोस् त, क्लिन–चिट भनेर कत्रो स्वर? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबैकुरा घामजस्तै छर्लङ्ग भएको भन्दै अब रविका पक्षधरले वकालत गर्न जरूरी नभएको उनको भनाई छ।

उनले भने, ‘सहकारी ठगी प्रकरण सडक आन्दोलनहुँदै सदनमा कांग्रेसले माओवादी-एमालेको सरकार हुँदा कुरा उठायो। विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो। अनिमात्रै छानबिन समिति बन्यो। सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो। त्यतिबेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो।'

पूर्वमन्त्री प्रधानले त्यसबेला सूर्य थापा र एमाले सांसदहरूले रवि लामिछानेको बचावट गरेको देख्दा ठीक रिपोर्ट आउँदैन कि भन्ने शंका लागेको सुनाए। 

'सूर्य थापा त त्यतिबेला रवि लामिछानेको वकालत गर्ने मान्छे। ठीक ढंगले रिपोर्ट आउँदैन भन्ने थियो। पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरूले नै धेरै बोलेका थिए। पछि कांग्रेस र एमालेको सरकार बन्यो। अहिले प्रतिवेदन आइसकेको छ, अब घामजस्तै छर्लङ्ग भइसकेको छ, उनले भने। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए।

उनले भने, ‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरू भइसक्यो। जहाँसम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ। अदालतले गर्ने हो–फैसला। आफैले क्लिनचिट भन्ने होइन। हाम्रै पार्टीका साथीहरू पनि अदालतकै कारण जेल गएका छन्। गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए। त्यही हो डेमोक्रेसीको व्युटी भनेको।’

उनले भ्रष्टाचारसम्बन्धी पाँच वर्षे हदम्याद खराब नियतले आएको भएपनि जनदबाबको कारण हटाइएको स्पष्ट पारे। 

उनले भने, ‘त्यो पाँच वर्षे हदम्याद खराब नियतका साथ आएको थियो। तर, जनदबाब, खासगरी मिडिया र मानवअधिकारको दबाबको कारण हटाएको हो। बाध्य भएर केपी ओलीले हटाएको हो।’

पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरू भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ। 

असोज ४, २०८१ शनिबार २१:०२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।