देउवाले कार्यकर्तालाई भने 'कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन् भन्छन्, जनताको मन जित्नेगरी काम गर्नू'

देउवाले कार्यकर्तालाई भने 'कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन् भन्छन्, जनताको मन जित्नेगरी काम गर्नू'

काभ्रेपलाञ्चोक : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको दाबी गरेका छन्। 

उनले काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको बीपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेको सत्ता सहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए। 

उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेता-कार्यकर्तालाई आग्रहसमेत गरे। 

'सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ, उनले भने। 
 
सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए। 

'अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ। जनताको दुःख, पीर-मर्का बुझ्नुपर्दछ', सभापति देउवाले भने। 

हालको यो संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको उनको तर्क थियो। 

'तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि! त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौँ भने बहुमत प्राप्त गर्न सक्नेछौँ', उनले भने। 

सभापति देउवाले इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहोर्याए। 

उनले बीपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्रीहुँदा बीपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको सुनाए।  

असोज ४, २०८१ शनिबार १९:१३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।