'धनराज गुरुङमाथि सीआइबीले छानबिन गरिरहेको छ, दोषी देखिए जेल जानुहुन्छ'

'धनराज गुरुङमाथि सीआइबीले छानबिन गरिरहेको छ, दोषी देखिए जेल जानुहुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन्। 

शनिबार कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताए।

उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दा पनि दलकाहरूले हाम्रो अध्यक्षमाथि छानबिन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए। 

उनले भने, ‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरूले हाम्रो अध्यक्षमाथि छानबिन गर्न पाईदैन भनेर भन्यो।'
 
उनले पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेकाले छानबिन गर्नुपर्ने बताए ।  

'पुरानो दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैंले संसदमा उभिएर म माथि छानबिन गर्नुस् भनेर भन्नुभयो। नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दैगर्दा उनीहरू भन्छन् छानबिन गर्न मिल्दैन तर हामी भन्छौं उहाँमाथि छानबिन हुनुपर्छ। उहाँमाथि छानबिन सुरू भएको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस लाग्दैन। सीआइबीले छानबिन गरिरहेको छ। धनराज गुरुङ छानबिन गर्दा निर्दोष देखिनुहुन्छ, माला लगाएर कांग्रेसको नेतृत्व गर्नुहुन्छ। दोषी देखिनुहुन्छ, जेल जानुहुन्छ,’ उनले भने। 

त्यस्तै, उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरे। शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए। 

असोज ४, २०८१ शनिबार १८:२३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।