धिरज र उपासनाको बिहे गर्ने हल्ला : साँच्चै कि फिल्म चलाउने फण्डा?

धिरज र उपासनाको बिहे गर्ने हल्ला : साँच्चै कि फिल्म चलाउने फण्डा?

काठमाडौं : एकबेला फिल्मको प्रमोसनका बेला अभिनेत्री तथा निर्देशक झरना थापाले छोरी सुहानाका लागि योग्य वर अनमोल केसी रहेको भन्दै हल्ला फिँजाएर प्रमोसनको माध्यम बनाएकी थिइन्। फिल्म ‘ए मेरो हजुर’को सिक्वेल त्यसैको चर्चा र प्रचारको माध्यम पनि बनाइन्। फिल्म हलमा लाग्यो र चल्यो पनि। यस्ता फण्डा फिल्ममेकरहरूले आफ्ना फिल्म प्रचारका माध्यम बनाइरहेका हुन्छन्।  
  
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘खुश्मा’मा पनि त्यस्तै फण्डाको नाटक रचिएको छ। फिल्मको प्रचार प्रसारमा सुस्त पारेका निर्माण टिमले यतिबेला फिल्मका हिरो हेरोइनलाई बिहेको कुरा उठाएर फण्डा चलाउन थालेका छन्। दर्शकले हलमा कुन फिल्म चल्दैछ भनेर भेउ पाउन नसकेका बेला फिल्मका कलाकारलाई फण्डाको विषय बनाइरहेका छन्। 

एक साताअघिबाट यसै फिल्मका जोडी धिरज मगर र उपासना सिंह ठकुरीले आफूहरूबीच बिहे हुनसक्ने सम्भावना रहेको युट्युब च्यानलमा अन्तवार्ता दिएका थिए। उनीहरूबीच प्रेम रहेको हल्ला चल्न थालिरहेको थियो। युट्युबलाई चाहिएको खुराक पस्किन माहिर रहेका उनीहरुले फिल्मको प्रिमियरमा समेत आफूहरूबीच विवाहका लागि घरमा कुरासमेत चलेको भने।  

प्रिमियरमा आफुहरु विवाहका लागि राजी भएको हल्ला चलाए। यही विषयलाई लिएर निर्देशक अशोक थापा मगरले उनीहरुलाई विवाह गर्न सुझाव दिएका छन्। शुक्रबार साँझ बिग मुभिज सिटी सेन्टरको बाहिर उपासनाको जन्मदिनको शुभकामना दिने कार्यक्रममा दुवै जोडी पर्फेक्ट रहेको भन्दै विवाहमा बाँधिए फरक नपर्ने बताए। 

निर्देशक थापाले दुवैका अगाडि भने, ‘म चाहन्छु, यदि गेमी (धिरज) र खुस्मा (उपासना)जिन्दगीभरि सँगै रहन सक्यो भने मेरो खुशीको कुरा हुनेछ। बिहे गर्ने तपाईंहरूको इच्छा हो।’

निर्देशक थापाको कुरा सुनेर उपासना र धिरज लाजले भुतुक्कै भए। दुवैले मज्जाले हाँस्दै धन्यवाद दिए र तीनै जनाले अँगालो मारे। 

यो उनीहरुको फिल्म चलाउने र हल्ला चलाउने एउटा मेसोको रुपमा बुझिन्छ। किनभने नेपाली फिल्ममेकरहरू आफ्नो फिल्म हलमा टिकाउन र दर्शक रिझाउनका लागि फण्डा गरिएको हो। नत्र यसअघि विवाहको हल्ला चलेका अधिकांशको विवाह भएका छैनन्। 

पूजा शर्मा र आकाश श्रेष्ठको राम्रै चर्चा चलेको थियो। उनीहरूबीचको हल्लाले फिल्म चलाउन केही मद्दत त पुग्यो होला तर बिहे नै गरेनन्। बरु एक अर्काको आरोप-प्रत्यारोपमा लागे। 

धिरज र उपासनाबीचको प्रेम सम्बन्ध रहेको छ र उनीहरू विवाह गर्छन् भन्नेमा के सत्यता छ र? फिल्म चलेपछि पनि यस्तै हल्ला चल्यो भने पत्याउँला, हैन भने उहीँ फिल्म चलाउने फण्डा बाहेक केही भन्न सकिँदैन। किनभने नेपाली फिल्ममेकरहरू फण्डा रच्न माहिर छन्, फिल्म बनाउन हैन।  

असोज ४, २०८१ शनिबार १७:५५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।