५८ सहकर्मीसँग शारीरिक सम्बन्ध राखेर छ करोड घुस लिएको आरोपमा चिनियाँ गभर्नरलाई १३ वर्ष जेल सजाय

५८ सहकर्मीसँग शारीरिक सम्बन्ध राखेर छ करोड घुस लिएको आरोपमा चिनियाँ गभर्नरलाई १३ वर्ष जेल सजाय

एजेन्सी : चीनमा ‘सुन्दरी गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तका गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ। उनलाई १० लाख चिनियाँ युयान जरिवाना पनि लगाइएको छ।

५२ वर्षीय झोङ याङ ६ करोड चिनियाँ युयान घुस लिएको र ५८ जना सहकर्मीसँग शारीरिक सम्बन्ध राखेको अभियोगमा दोषी ठहर भएकी हुन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार झोङ चिनियाँ कम्युनिष्ट पार्टीबाट गुइझोउका उपसचिव र गभर्नर भइसकेकी व्यक्ति हुन्। उनी २२ वर्षको उमेरमा पार्टीमा प्रवेश गरेकी थिइन्।

जनवरी २०२३ मा चीनको गुइझोउ रेडियोले झोङसँग सम्बन्धित विवादहरूको बारेमा रिपोर्ट गर्यो।

उनीमाथि सरकारी लगानीको आडमा आफ्नो मनपर्ने कम्पनीलाई ठूला ठेक्का दिलाउन आफ्नो हैसियत प्रयोग गरेको आरोप उनीमाथि लागेको थियो।

झोङले एक व्यापारीलाई १.७ लाख वर्ग मिटर जग्गामा हाईटेक इन्डस्ट्रियल इस्टेट बनाउने ठेक्का दिएको पाइएको थियो। ती व्यापारीसँग झोङको घनिष्ठ सम्बन्ध थियो।

यो सम्झौताबाट झोङलाई पनि धेरै फाइदा भयो। कागजातका अनुसार, झोङले आफ्नो व्यक्तिगत सम्बन्ध भएका कम्पनीहरूलाई समेत मद्दत गर्ने गर्थिन्।

अप्रिल २०२३ मा, गुइझाउ प्रान्तको सुपरिवेक्षण समितिले झोङ विरुद्ध अनुसन्धानको घोषणा गरेको थियो। सो अवधिमा झोङमाथि ५८ पुरुषसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि लागेको थियो।

यीमध्ये अधिकांश व्यक्तिहरू व्यापारी थिए। कतिपय उनकै सहकर्मीहरू समेत थिए। चिनियाँ सञ्चारमाध्यमका अनुसार झोङले यी व्यक्तिहरूलाई व्यापार, यात्रा वा ओभरटाइमको बहानामा भेट्ने गर्थिन्।

झोङलाई गत वर्ष अप्रिलमा पक्राउ परेकी थिइन्। त्यसपछि सेप्टेम्बर २०२३ मा कम्युनिष्ट पार्टी र नेसनल पिपुल्स कंग्रेसबाट समेत उनलाई निष्कासन गरिएको थियो।

उनीमाथि बनेको डकुमेन्ट्रीमा झोङ याङले आफूले गरेको कामप्रति पश्चाताप भएको बताएकी छन्। उनले अब आफ्ना सहकर्मी, परिवार र राजनीतिक नेताहरूसँग आँखा जुधाउन समेत नसक्ने बताएकी छन्।

असोज ४, २०८१ शनिबार १४:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।