डा. कुणालको उपचार अनुभव : १२ वर्षदेखि ढुङ्गा बोकेको कलेजो आधा काटेर फालेपछि ती महिला बाँचिन्

डा. कुणालको उपचार अनुभव : १२ वर्षदेखि ढुङ्गा बोकेको कलेजो आधा काटेर फालेपछि ती महिला बाँचिन्

डा. कुणाल विक्रम देव सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट (जीआई सर्जन) चिकित्सक हुन्। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत उनले विशेषगरी नेपालको पूर्वी क्षेत्रका बिरामीको दुःख तथा पीडा नजिकबाट नियालेका छन्। उनै डा. कुणालले चिकित्सकीय पेशाको सिलसिलाको अनुभव उकेरासँग साटेका छन्।

१२ वर्षदेखि कलेजोमा ढुङ्गा बोकेकी ती महिला
अढाइ वर्षअघि करिब ५६ वर्षकी खोटाङकी महिला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगिन्। ती महिलाको १२ वर्षअघि दुई पटक पित्त थैली र पित्त नलीको शल्यक्रिया गरिएको रहेछ। शल्यक्रिया गरेपछि पनि ज्वरो आउने, पेट दुख्ने, खान मन नलाग्ने जस्ता समस्याले दुःख पाइरहेकै थिइन्।

विभिन्न अस्पताल चहार्दा समेत स्वास्थ्य समस्या ठिक नभएपछि वीपीमा पुगेकी उनलाई डा. कुणालले स्वास्थ्य परीक्षण गरे। परीक्षणका क्रममा ती महिलाको कलेजो भित्र नै ढुङ्गा (पत्थरी) भएको थाहा भयो। कलेजो भित्रको पित्तको नली खुम्चिएर करिब बन्द हुने अवस्थामा पुगिसकेको थियो।

पित्तको नली खुम्चिएर साँघुरिएकाले कलेजोको देब्रे भागमा ढुङ्गा जमेर बसेको थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘लेफ्ट हेपाटोलिफियासिस वीथ रिकरेन्ट पायोजेनिक कोलान्जाइटिस’ भनिन्छ। त्यो बेला नेपालमा यस किसिमको रोग एकदमै कम देखेका थिए डा. कुणालले।

यद्यपि भारतको चण्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्ज (पीजीआईमर)मा सर्जिकल ग्याट्रो इनटेरोलोजी (जीआई सर्जरी) विषयमा एमसीएच अध्ययन गर्दा यस्तो समस्या भएका धेरै बिरामीको उपचार गरेको अनुभव थियो उनीसँग। त्यसैले उनले ती ५६ वर्षीया महिलाको रोगको एकिन पहिचानपछि शल्यक्रिया गरी कलेजोभित्र जमेको ढुङ्गा (पत्थरी) निकाल्ने योजना बनाए।

शल्यक्रिया गर्दा ती महिलाको कलेजको आधा भाग नै काटेर फाल्नुपर्ने अवस्था थियो। उनले बिरामी पक्षलाई त्यही सल्लाह दिए। शुरूमा त कलेजोको आधा भाग नै काटेर फाल्ने भनेपछि बिरामी र बिरामीको परिवार झस्कियो। सम्झाइ बुझाई गरेपछि आफन्तहरू ती महिलाको कलेजोको शल्यक्रिया गर्न तयार भए।

चिकित्सकको टिमले ती महिलाको ढुङ्गा भएको बायाँतर्फको कलेजोको आधा भाग काटेर निकाल्यो। शल्यक्रिया सफल भयो। महिलाको ज्यान बाँच्यो। रोग पनि निदान भयो। विभिन्न कारण रोगको सहि पहिचानको पहुँचको अभाव र सहि उपचारको पहुँचको अभावले रोग पालेर बस्न बाध्य ती महिला रोग नै फालिएपछि खुसी नहुने कुरै भएन।

अहिले पनि बेला-बेलामा खोटाङकी ती महिला पहाडबाट झरेर फलोअपमा डा. कुणाललाई भेट्न पुग्छिन्। तीन महिनाअघि ती महिला फलोअपमा अस्पताल पुग्दा स्वास्थ्य ठिकठाक रहेको र खुशी भएको डा. कुणालले सुनाए।

त्यो दुर्लभ शल्यक्रिया
केही वर्षअघि करिब ४५ वर्षकी महिलालाई उपचारका लागि अर्धचेत अवस्थामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याइयो। स्वास्थ्य परीक्षणका क्रममा ती महिलाको आन्द्राबाट रक्तश्राव भइरहेको थाहा भयो। तर, कारण पत्ता लाग्न सकेको रहेनछ।

उपचारको लागि भारतसम्म पुगेकी ती महिलाको उपचारका लागि भन्दै दुई पटक त शल्यक्रिया नै भइसकेको रहेछ। तर, रोग निको नभएर ती महिला शारीरिक र मानसिक रूपमा गल्दै गएकी थिइन्। परिवार तथा आफन्तले बाँच्ने आशा मार्न थालिसकेका थिए।

सानो आन्द्रामा आन्तरिक रक्तश्राव हुनु भनेको एक किसिमको दुर्लभ रोग नै थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘क्रोन्स डिजिज’ भनिन्छ। रोगको पहिचानपछि डा. कुणालको टिमले ती महिलाको आन्द्राको शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो र ती महिलाको ज्यान बाँच्यो।

अर्धचेत अवस्थामा अस्पताल पुर्याइएकी ती महिला शल्यक्रिया र केही दिनको औषधि उपचारपछि डिस्चार्ज भएर घर फर्किइन्। माया नै मारिसकिएकी ती महिलाको ज्यान बचाउन सफल हुँदा निक्कै खुसी महशुस भएको डा. कुणालले सुनाए।

श्वासै फेर्न नसकेका १७ वर्षीय युवा
करिब १७ वर्षका युवालाई राम्रोसँग श्वासप्रश्वास गर्न नसक्ने अवस्थामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो। तत्कालै गरिएको स्वास्थ्य परीक्षणमा उनमा अग्नाशय (प्यान्क्रियाज) बिग्रिएर कामै नगर्ने अवस्थामा पुगिसकेको थाहा भयो। उनको अग्नाशय खुम्चिएको अवस्थामा थियो।

अग्नाशयको नली सुन्निनुका साथै क्षति पुगेको थियो। अग्नाशयको नलीबाट तरल पदार्थ बग्ने बाटो नै ढुङ्गा जमेर करिब बन्द भइसकेको थियो। त्यसैगरी अग्नाशयको तल्लो भागको नली फुटेर मुटुको रगत पुर्याउने नसामा क्षति पुगेको थियो। जसले गर्दा दायाँतर्फको भागको छातीमा विस्तारै रगत जम्दै गएको थियो।

छातीमा रगत जमेकाले फोक्सोलाई रगतले थिचेको थियो। फोक्सोले राम्रोसँग काम गर्न सकेको थिएन। त्यसैले पनि ती युवालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। रोगको पहिचान भएपछि अब डा. कुणालको टिमले उपचारको पद्धति अपनाउन थाल्यो।

चिकित्सकीय टिमले एक किसिमको पाइपको सहायताले छातीमा जमेको रगत निकालेर सफा गर्यो। त्यसपछि मात्र ती युवाको अग्नाशयको शल्यक्रिया गरेर बन्द भएको नली खोलियो अनि फुटेको नली टालियो। शल्यक्रिया सफल भयो।

ती युवाको थिचिएको फोक्सो फुलेर सामान्य अवस्थामा आयो। मृत्युको मुखैमा पुगिसकेका ती युवा शल्यक्रियापछि सामान्य अवस्थामा फर्किए। श्वास पनि सहज रूपमा फेर्न थाले। शल्यक्रिया गरेको एक हप्तापछि त ती युवा ठिक भएर घर फर्किए।

जता बुवा, उतै अध्ययन
२०४३ मा सप्तरीको राजविराजमा जन्मिएका हुन् कुणाल। बुवा एयरपोर्टका सरकारी जागिरे थिए। त्यसैले बुवाको जताजता सरुवा भयो उनको पढाइ पनि उतैउतै हुन्थ्यो। उनले एसएलसीसम्मको अध्ययनका क्रममा विभिन्न जिल्लाका आठ वटा विद्यालय पढे।

पछि उनका बुवाले एयरपोर्टको सरकारी जागिर छोडेर धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोविज्ञका रूपमा जागिर गर्न थाले। त्यसैले कुणालले पनि नौ र दश कक्षा धरानमा नै पढे। उनले धरानको विजयपुर उच्च माविबाट २०५८ मा एसएलसी गरे। एसएलसीपछि त्यहीँको दिल्ली पब्लिक स्कुलबाट प्लस टु गरे।

कुनाललाई डाक्टर नै बन्ने रहर थियो। त्यसैले उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि छनोट परीक्षा दिए। सन् २००४ मा भर्ना भएर एमबीबीएस अध्ययन थालेका उनले २०१० मा एमबीबीएस अध्ययन पूरा गरे। एमबीबीएस अध्ययनपछि प्रतिष्ठानकै बाल रोग सम्बन्धी आईसीयूमा उनले एक वर्ष मेडिकल अधिकृतका रूपमा करार जागिरे भएर काम गरे।

छनोटमा सर्जरी, ३० वटा अनुसन्धानात्मक लेख प्रकाशित
डा. कुणाललाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले थप अध्ययनका लागि उनले छनोट परीक्षा दिए। उनी छनोट परीक्षामा छनोट भएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै स्नातकोत्तर तहको जनरल सर्जरी (मास्टर्स इन जनसल सर्जरी/एमएस) विषय अध्ययन गर्न थाले। सन् २०१४ मा उनको जनरल सर्जरी (एमएस) अध्ययन पूरा भयो।

एमएस अध्ययनपछि उनले करिब दुई महिना प्रतिष्ठानमा नै भोलिन्टियर रूपमा काम गरे। त्यसपछि डा. कुणाल प्रतिष्ठानमा नै सिनियर रेजिडेन्ट तथा एसिस्टेन्ट प्रोफेसरको भूमिकामा दुई वर्ष काम गरे। डा. कुणाललाई विभिन्न कठिन रोगहरूको विषय अध्ययन गर्ने भोक मरेकै थिएन। त्यसैले उनले कलेजो, पेट तथा पाचनजन्य रोग जस्ता विषयमा थप अध्ययन गर्ने निधो गरे।

त्यसैले डा. कुणाल सर्जिकल ग्याट्रो इनटेरोलोजी (जीआई सर्जरी) विषयमा सन् २०१६ मा भारतको चण्डिगढस्थित पोष्ट ग्राजुयट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआईमर)मा भर्ना भएर एमसीएच अध्ययन थाले। उनले सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजी विषयमा तीन वर्षे एमसीएच गरे। यो विशिष्टिकृत (सुपर स्पेशलाइजेशन) तहको विद्यावारिधि सरहको अध्ययन हो।

पाचन प्रक्रिया सम्बन्धि खाना खाने मुखको नलीदेखि अग्नाशय (प्यांक्रियाज), आमाशय, गलब्लाडर (पित्तथैली), पित्त नली, कलेजो, पेट, सानो अन्द्रा, ठूलो अन्द्रा र मलद्धारसम्मको उपचार गर्नु उनको सर्जिकल ग्याट्रोइनटेरोलोजी चिकित्सकीय विधा हो। त्यो बेला नेपालमा भन्दा भारतमा नै काम गर्दा उनलाई आकर्षक तलब सुविधाको प्रस्ताव नआएको हैन। तर, उनले नेपालमा नै फर्केर काम गर्ने निर्णय गरे।

एमसीएच अध्ययनपछि उनी पाँच वर्षअघि सन् २०१९ मा धरानमा नै फर्केर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै काम गर्न थाले। हाल उनी त्यहीँ कार्यरत छन्।

डा. कुणाल सर्जिकल ग्याष्ट्रोइन्टरेरोलोष्टिका रूपमा विशेषगरी कलेजो, अग्नाशय (प्यांक्रियाज), आमाशय र गलब्लाडर (पित्तथैली)को शल्यक्रियामा बढी केन्द्रित हुन्छन्। पाचननली तथा प्रणालीमा भएको क्यान्सर तथा ट्युमरलगायत समस्याको शल्यक्रिया गरी उपचार गर्नु उनको दैनिकी हो।

विशेषगरी कलेजोमा भएका पत्थरी, अग्नाशयको पत्थरी, कलेजो, खानानली, आमाशय, अग्नाशय, पित्त नली, पित्त थैली, ठूलो आन्द्रा, सानो आन्द्राजस्ता अंगमा लाग्ने रोगको शल्यक्रिया गरी उपचार गर्ने उनको चिकित्सकीय विधा हो।

डा. कुणालले पेट तथा आन्द्राको क्यान्सर, कलेजोको क्यान्सर, अग्नाशय पेटसम्बन्धी क्यान्सर तथा ट्युमर जस्ता जटिल समस्याको ठूला ठूला शल्यक्रिया पनि ल्याप्रोसकोपिक विधिबाट गरेको अनुभव सुनाए।

बिरामीलाई औषधि उपचार गरी सन्चो बनाउनु उनको मूल चिकित्सकीय पेशा र धर्म हो। त्यसैगरी प्रतिष्ठानको एशोसियट प्रोफेसरका रूपमा रहेका उनी चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउँछन्। अनि खोज तथा अनुसन्धानात्मक लेख लेख्छन्। उनका करिब ३० वटा वैज्ञानिक अनुसन्धानात्मक लेख अन्तर्राष्ट्रिय स्तरकारका जर्नलमा प्रकाशित भइसकेका छन्।

असोज ५, २०८१ शनिबार ११:४२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।