न्युयोर्क पुगे ओली

न्युयोर्क पुगे ओली

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्।

प्रधानमन्त्री ओलीलाई जाेनएफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल, न्युयोर्कस्थित नेपाली काबा महावाणिज्यदूत चक्र सुवेदी तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ। महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ।

प्रधानमन्त्री ओलीले यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन्। यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन्।

असोज ४, २०८१ शनिबार १०:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।