म तिम्रै प्रेमी

म तिम्रै प्रेमी

बिर्सेर आफ्नालाई अनि मनलाई
सोचमा हराएर, लुगलुग डराएर
थोरै रमाएर साथै लजाएर
मनका हर तरङ्ग
तिम्रो मनसँग गास्ने
म उही प्रेमी
हो म तिम्रै प्रेमी

पहिलो चोटी
टेकेर घुँडा
लिएर रातो गुलाब
झुकाएर नजर
छोपेर डर
मनसँग मन साट्ने

सँगै जुनी काट्ने
प्रेम प्रस्ताव राख्ने
म नै त हो?
यो जिन्दगीको
मेरो पहिलो प्रेमिका
अनि
म तिम्रै प्रेमी

त्यो पहिलो मुसलधारे झरी,
याद छ?
म पानीमा लतपतिएर
हर बुँदमा तिमीलाई कल्पिरहँदा
भिज्दै मेरो समीप आएको,
आँखा जुधाएर
मैले लजाउँदै मुहार मोडेको
आयो केही याद?
हो म त्यही प्रेमी हुँ!

कि
अझै सम्झन सकेकी छैनौँ?
मैले गिज्याउँदा लजाउने
नबोल्दा मन डराउने
गल्तीमा सम्झाउने
लाग्थ्यो म नै त थिए!
तिमीलाई मनबाट मन पराउने
तर!
होइन रहेछ, गलत रहेछु म
गलत निस्के विपना र सपना
आजभोलि पहिले जसरी बित्दैनन् दिनहरू

झन् लाम्बिएका छन रातहरू
बद्लिएछ तिम्रो समय
अनि
तिमी पनि!
न मेरो समय बद्लियो
न म बदलिन सके?
नयनमा तिम्रै तस्बिर
ओठमा तिम्रै नाम
आँसु नदी समान
सकिनँ बदल्न यो मन,
ओहो,
किलो गाडी बसेको छ झन्
थिए! हुँ, अनि रहनेछु
म तिम्रै प्रेमी
जो तिम्रै भएर पनि हुन सकिनँ
हो उहीँ प्रेमी
म तिम्रै प्रेमी!

असोज ४, २०८१ शनिबार ०९:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।