विश्वकप लिग २ को घरेलु सिरिजमा क्यानडाको लगातार दोस्रो जित

विश्वकप लिग २ को घरेलु सिरिजमा क्यानडाको लगातार दोस्रो जित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को क्यानडामा जारी त्रिकोणात्मका सिरिजमा घरेलु टोलीले लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा नेपाललाई १०३ रनले पराजित गरेको क्यानडाले दोस्रो खेलमा ओमानलाई ५९ रनले हरायो। योसँगै क्यानडा १० खेलमा १२ अंकसहित लिग २ को तालिकाको दोस्रो स्थानमा छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको क्यानडाका लागि सुरुवाती क्षण राम्रो हुन सकेन। पहिलो बलमै विकेट गयो। दोस्रो विकेट पनि छिट्टै नै गयो। त्यसपछि भने क्यानडाले सम्हालिएर खेल्यो।

पूरै ५० ओभर खेलेको क्यानडाले ८ विकेटको क्षतिमा २७६ रन बनायो। उसका लागि हर्ष ठाकरले १०३ बलमा ९३ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक निकोलस किर्तनले ५७ रनको अर्को अर्धशतक बनाउँदा पगरत सिंहले ४२ रन बनाए।

डिलोन हेलिगरले १४ बलमा ३७ रनको आक्रामक पारी खेल्दा पूर्वकप्तान साद बिन जफरले १५ बलमा २२ रन जोडे।

बलिङतर्फ ओमानका सकील अहमद, कलिमुल्लाह र फयाज बटले समान दुई–दुई विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको ओमान ४६ ओभरमा २१७ रन बनाएर अलआउट भयो। ओमानको पनि सुरुवात राम्रो हुन सकेन। कश्यप प्रजाति विना रन आउट हुँदा जतिन्दर सिंहले मात्र ५ रन जोडे। कप्तान अकिब इलियास १० रनमा पेभेलियन फर्कँदा जीसान मक्सुदले २६ रन जोडे।

प्रतिक अथभाले चार बल खेलेर शून्यमा आउट हुँदा त्यसपछि आएका आयान खान, सोहिब खान, मेहरान खान र फयाज बटले क्रमशः ३०, २४, ३७ र ४४ रन बनाए।

नटआउट खेलेका सकील अहमदले २१ रन जोडे।

क्यानडाका लागि डिलोन हेलिगरले चार, कलीम सनाले दुई तथा हर्ष ठाकर, अखिल कुमार, अन्श पटेल र साद बिन जफरले एक–एक विकेट लिए।

तीन देश सम्मिलित सिरिजमा नेपालले आफ्नो अर्को खेल भोलि बेलुकी पौने ९ बजे क्यानडासँग खेल्नेछ। त्यसपछि मंगलबार बेलुकी ओमानसँग खेल्नेछ।

असोज ४, २०८१ शनिबार ०८:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।