सुरू भयो पदयात्राको याम, अन्नपूर्ण संरक्षण क्षेत्र बन्न सक्छ उत्कृष्ट गन्तव्य

सुरू भयो पदयात्राको याम, अन्नपूर्ण संरक्षण क्षेत्र बन्न सक्छ उत्कृष्ट गन्तव्य

गण्डकी : शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरू भएको छ। असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो मानिन्छ। पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गसहित यहाँका पर्यटकीय गन्तव्यमा पर्यटक आउन सुरू गरेका छन्। 

ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले मध्य असोजदेखि पर्यटकको चहलपहल बढ्दै जाने जानकारी दिए। 

'विदेशी पर्यटकको बुकिङ आइरहेको छ, नेपालीहरू दसैँ आसपासमा बढी घुम्न निस्कन्छन्। पदयात्रा पर्यटन कोभिड–१९ अघिको स्थितिमा अझै नफर्केपनि सुधारतिर उन्मुख हुँदै गएको छ, उनले भने। 

पोखरा–मुग्लिन सडक निर्माणमा भइरहेको ढिलाइले पनि यस क्षेत्रमा भित्रिने पर्यटकको सहज आउजाउमा बाधा पुर्याइरहेको अध्यक्ष आचार्यको भनाइ छ। 

उनले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए। उनले ‘टान’ले आउँदो साता पर्ने अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर नयाँ पर्यटकीय पदमार्गको प्रबर्द्धन गर्ने योजना बनाएको सुनाए। 

त्यस संस्थाले पदयात्रा पर्यटनलाई थप व्यवस्थित बनाउन पथप्रदर्शकहरुलाई जैविक विविधता र पर्यावरणबारे अभिमुखीकरण गरेको थियो। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार असोज लागेयता पछिल्ला तीन दिनमा २५ सय ७७ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १५ सय ७२ र अन्य मुलुकका एक हजार पाँच जना छन्। 

गत भदौमा दक्षिण एसियाली मुलुकका सात हजार तीन सय ६९ र अन्य मुलुकका पाँच हजार नौ सय एक गरी जम्मा १३ हजार दुई सय ७० पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। 

‘एक्याप’ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ। 

आयोजना प्रमुख डा रविन कडरियाले अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान सञ्चालन गरिएकाले त्यहाँ जाने पर्यटकलाई सकेसम्म बोतल र प्लाष्टिकजन्य सामग्री नलैजान आग्रह गरे। 

गत आवमा अन्नपूर्ण क्षेत्रको भ्रमणमा निस्केका २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको डा कडरियाले सुनाए। तीमध्ये छ जना नेपाली, ११ जना भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिक थिए। 

'अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्। हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकैपटकमा उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ, उनले भने। 

पदयात्राका लागि प्रख्यात म्याग्दीको घोडेपानीका पर्यटन व्यवसायी जुली पुनले केही दिनयता मौसम खुलेसँगै पदयात्री पर्यटक आउने क्रम सुरू भएको बताए। 

'विदेशीहरुले पदयात्रा रुचाउने भएपनि बढीजसो आन्तरिक पर्यटक सडकमार्ग भएर यहाँ आउने भएकाले जीर्ण सडकका कारण व्यवसायीहरूले आफूलाई चाहिने सरसामान ल्याउन पनि मुस्किल भइरहेको उनको भनाई छ। 

अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने पर्यटकीय गन्तव्य हुन्। कास्कीको खुमै डाँडा, कोरी, सिक्लेस, धम्पुस, ताङतिङ, ल्वाङलगायत गाउँ पनि पदयात्राका लागि चिनिएका गन्तव्यस्थल हुन्। 

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिने ‘एक्याप’का प्रमुख डा कडरियाले बताए। 

चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो। अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नै पर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। 

गत वर्षको शरद याममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका थिए। सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देश-विदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। 

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए। जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक छन्। 

असोज ३, २०८१ शुक्रबार २२:०७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।