कमल थापाको दाबी : सहकारी प्रकरणमा कांग्रेस-एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन्

कमल थापाको दाबी : सहकारी प्रकरणमा कांग्रेस-एमालेको संलग्नता देखियो, अब फासफुस पार्छन्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। 
 
शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हंगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने बित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए।
 
उनले छानबिन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे। 

‘सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठूला नेताहरुको नाम आउन थाल्यो। त्यसपछि पहिलेझैं भ्रष्टाचारको काण्ड दबाएझैं गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्, उनले भने, ‘एकातिर क्लिन चिट पाए रविले भनेको छ। अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ। त्यो कस्तो प्रतिवेदन हो? रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो। जब ठूला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भनेजस्तै गरी फासफुस बनाउने काम भयो।’  

उनले सरकारले र सत्तामा भएका दलहरूले ठूलो तामझामकासाथ संविधान दिवस मनाएतापनि जनताको कुनै उत्साह नरहेको बताएका छन्। 

सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन भन्ने प्रमाणित भएको बताए। 

असोज ३, २०८१ शुक्रबार २१:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।