उदयपुर घटना : विवाद भएपछि सुरूमा आमाको हत्या, सुतिरहेका छोरा कराएपछि उनको पनि खुकुरी प्रहार गरी हत्या

उदयपुर घटना : विवाद भएपछि सुरूमा आमाको हत्या, सुतिरहेका छोरा कराएपछि उनको पनि खुकुरी प्रहार गरी हत्या

काठमाडौं : उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ। 

वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाक  हत्या गरेको आरोपमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन चापागाईंको टोली सोरुङ्गछविसेमै रहेर अनुसन्धान गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार घटना भएको राति आरोपी मगर महिला सुतेको स्थानमा पुगेका थिए। त्यसपछि उनीहरूबीच विवाद भएको र रिसमा आरोपीले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। 

आरोपीले घरबाट नै खुकुरी बोकेर गएको प्रहरीले जनाएको छ। 

आपसी विवाद भएपछि पटकपटक खुकुरी प्रहार गरेको र सोही क्रममासँगै सुतिरहेका छोरा आरुस उठेर कराउन थालेपछि छोरालाई पनि खुकुरी प्रहार गरी हत्या गरेका अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ। 

'प्रारम्भिक अनुसन्धान मात्रै हो आज हामीले ७ दिनको म्याद थपेर थप अनुसन्धान थालेका छौँ', एसपी योगीले भने, 'घटनापश्चात अभियुक्तले प्रयोग गरेको खुकुरी, मृतक महिलाको मोबाइल, अभियुक्तले घटनापश्चात नजिकैको खोलामा धोएर सुकाएको हाफपाइन्ट बरामद गरिएको छ।

प्रहरीका अनुसार आरोपी भोलिपल्ट बिहान घटनास्थलमा पनि आएका थिए। 

कटारी अस्पतालमा शव परीक्षणका समयमा स्थानीयसँग आएको र दाहसंस्कारमा उपस्थित भएकाले तत्काल शङ्का गर्नुभन्दा आवश्यक प्रमाण पुराउन समय लागेको अनुसन्धानमा खटिएका डीएसपी चापागाईंले बताए। 

मृतक महिलाका श्रीमान् अशोक थापा तीन वर्षअघि नै कान्छी श्रीमती लिएर भारततिर गएका थिए।  

असोज ३, २०८१ शुक्रबार १९:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।