क्यानडा पठाइदिने भन्दै १८ लाख बढी लिएर भागेका एकजना पक्राउ

क्यानडा पठाइदिने भन्दै १८ लाख बढी लिएर भागेका एकजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एसपी काजीकुमार आचार्यले जानकारी दिए। 

आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्याएर विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ। 

असोज ३, २०८१ शुक्रबार १८:५३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।