प्रधानमन्त्री ओलीलाई दोहामा स्वागत

प्रधानमन्त्री ओलीलाई दोहामा स्वागत

दोहा : प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा पुगेका छन्।

प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरे।

प्रधानमन्त्री ओलीसहित उनकी पत्नी राधिका, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू आजै त्यतातिर प्रस्थान गरेका हुन्। 

उनले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली असोज ८ मा महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ मा अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने  मन्त्रालयले जनाएको छ।

असोज ३, २०८१ शुक्रबार १८:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।