निर्वाचनबाट भाग्दै पत्रकार महासंघका पदाधिकारी, काम चलाउ अध्यक्षपछि कार्यवाहक विष्टको राजीनामा

निर्वाचनबाट भाग्दै पत्रकार महासंघका पदाधिकारी, काम चलाउ अध्यक्षपछि कार्यवाहक विष्टको राजीनामा

काठमाडौं : नेपाल पत्रकार महासंघको निर्वाचन जटिल बन्दै गएपछि महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएर हिँडे। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष रमेश विष्ट कार्यवाहक अध्यक्ष भएका थिए। पटक-पटक सर्दै असोज १२ मा तोकिएको मितिमा पनि निर्वाचन नहुने भएपछि विष्टले पनि राजीनामा दिए शुक्रबार।

उनले महासंघका महासचिव रोशन पुरी र उपाध्यक्ष बाला अधिकारीलाई बोधार्थ गरिएको राजीनामा पत्रमा पत्रकारको नाममा खुलेका राजनीतिक संगठनका पदाधिकारीले महासंघको सदस्य बन्न अयोग्य चार सय जनालाई सदस्य बनाउन बाध्य पारेर नाङ्गो हस्तक्षेप गरेको उल्लेख गरेका छन्।

विधान अनुसार सदस्यता फारम नभरेका, पत्रकारिता पेसामा संलग्न रहेको प्रमाण पेश नगरेका र शुल्क नबुझाएकालाई समेत सदस्य बनाउन दबाब दिँदा असोज १२ मा तोकिएको निर्वाचन समेत सम्भव नभएको उनको दाबी छ।

उनले राजीनामा पत्रमा क्रियाशील पत्रकारलाई सदस्यता दिन र जोगाउन मुस्किल रहेको तर पत्रकारै नभएकालाई घरमै लगेर सदस्यता दिनु लज्जाको विषय भएको उल्लेख गरेका छन्।

राजनीतिक दलको बदलिएको सत्ता समीकरणको सिकार महासंघ भएको र दलगत रूपमा बनेका उम्मेदवार जित-हारलाई दलले प्रतिष्ठाको विषय बनाएको उनले राजीनामामा दाबी गरेका छन्।

महासंघको विवाद के हो?
विपुल र विष्टसहितको महासंघको नेतृत्व नेपाली कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरसहितको गठबन्धनबाट चुनिएका हुन्। पोखरेल, विष्ट, बाला अधिकारीसहित अधिकांश युनियनका छन्।
 
महासचिव रोशन पुरीसहितका पदाधिकारी माओवादी केन्द्रका हुन्। महासंघले गैर पत्रकारको सदस्यता खारेज गर्ने अभियान शुरू गरेर १३ सयलाई आठ सय हाराहारीमा ल्याएपछि दलगत स्वार्थमा केन्द्रित युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतका नेतृत्वले आपत्ति जनाएर आ-आफू निकटलाई सदस्यता दिन सक्रिय भए।

महासंघ निर्वाचनको तयारीक्रममा केन्द्रमा माओवादी-एमाले नेतृत्वको सरकार बन्यो। महासंघमा पनि चौतारी-प्रेस सेन्टरसहितको गठबन्धन बन्यो। प्रेस युनियनले सदस्यता विवादमा असहमति जनायो।

एकाएक केन्द्रको गठबन्धन भत्किएर कांग्रेस-एमालेको सरकार बनेपछि महासंघको गठबन्धन पनि भत्कियो। युनियन र चौतारीको बीचमा गठबन्धन बन्न छलफल थालियो। यो बीचमा युनियनसँगको सदस्यता विवाद समाधान गरियो। 

तर, निर्वाचन हुनसक्ने परिस्थिति रहेन। 

असोज ३, २०८१ शुक्रबार १६:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।