९ घण्टा लगाएर संसदीय समितिले रविसँग लिएको बयानमा सोध्यो ५१ प्रश्न : रविको एउटै जबाफ 'दोषी जीबी राई'

९ घण्टा लगाएर संसदीय समितिले रविसँग लिएको बयानमा सोध्यो ५१ प्रश्न : रविको एउटै जबाफ 'दोषी जीबी राई'

काठमाडौं : सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सूर्य थापा नेतृत्वमा रहेको समितिले ११ सय २४ पृष्ठ लामो पूर्ण प्रतिवेदन सार्वजनिक गर्यो। 

सार्वजनिक भएको प्रतिवेदनमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान पनि उल्लेख छ। बयानमा रविले सबै दोष गितेन्द्रबाबु राई (जीबी)लाई थोपरिदिएका छन्। 

९ घण्टा लगाएर लिएको बयानमा ५१ वटा प्रश्न सोधिएको थियो। त्यसमध्ये सबैजसोको जबाफमा रविले आफूलाई केही थाहा नभएको र दोषी जीबी राई भएको उल्लेख गरेका छन्। 

उनले बयानमा जीबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरूको नाममा लिएको ऋण फर्जी भएको भनेका छन्। तर, सहकारीको रकम अपचलनमा रवि संलग्न भएको ठहर गर्दै उनीसहितलाई कारबाहीको सिफारिस गरिएको छ।

‘सहकारी संस्थामा भएका कुनै पनि आर्थिक क्रियाकलापमा मेरो कुनै संलग्नता छैन र मेरो जानकारी पनि छैन। म लगायत धेरै व्यक्तिहरूको नाममा नक्कली खाता बनाइ कारोबार गरेको अनुसन्धानले नै प्रमाणित गरेको देखिएको हुँदा उक्त कार्य गर्ने व्यक्ति नै जिम्मेवार हुनुपर्छ। मेरो संलग्नता नभएको विषयमा मैले जिम्मेवारी कसरी लिने ?,’ रविले बयान दिएका छन्।

संसदीय विशेष छानबिन समितिमा रास्वपाबाट सदस्य रहेका शिशिर खनाललाई सँगै राखेर रविले आफूले दिएका बयान दुई पटक पढेर मात्रै मध्यराति साढे १ बजे हस्ताक्षर गरेका थिए। तर, अधिकांश प्रश्नको जबाफमा उनले सहकारीबाट एक रूपैयाँ नलिएको र गोरखा मिडियामा रहँदा कार्यक्रम संचालन र प्रबन्धन निर्देशकको जिम्मेवारी बाहेक अन्य कार्यमा संलग्नता नरहेको भनेका छन्।

सहकारी ठगीमा मुख्य दोषी भनिएका जीबी राई अहिले देशभित्रै छैनन्। सरकारले पटकपटक प्रयास गरेपनि उनलाई स्वदेश फिर्ता गर्न सकेको छैन। तर, उनी मलेसियामा रहेको भन्नेसम्म पत्ता लागेको छ। 

बयानका क्रममा रविले आफू गृहमन्त्रीहुँदा जीबीलाई स्वदेश फिर्ता गर्न पहल गरेको भएपनि अघिल्लो सरकारले नै भगाएकोसमेत आरोप लगाएका छन्। 

हेर्नुहोस् रविले दिएको बयानको पूर्णपाठ : 

असोज ३, २०८१ शुक्रबार १६:२४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।