प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि १० दिनभित्र उजुरी गर्न आह्वान

प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि १० दिनभित्र उजुरी गर्न आह्वान

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ।
 
समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गर्यो। 
 
उनीहरूमाथि सुनुवाइका लागि गरिएको उजुरी आह्वान गर्न समितिले आज जारी गरेको सूचनामा १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट दिने सकिने उल्लेख गरिएको छ।

सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने जनाएको छ।

 संवैधानिक परिषद्को गत भदौ ३१ को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ मा पदावधि सकिँदैछ। त्यसपछि प्रस्तावित प्रधान न्यायाधीश राउतले १८ महिना न्यायपालिकाको जिम्मेवारी सम्हाल्ने छन्। 

मन्त्रिपरिषद् बैठकले सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूत र चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। 

असोज ३, २०८१ शुक्रबार १५:४४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।