राजनीतिक अपराधिकरण बढेको सञ्चारमन्त्रीको स्वीकारोक्ति

राजनीतिक अपराधिकरण बढेको सञ्चारमन्त्रीको स्वीकारोक्ति

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन्। 

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए। 

उनले भने, ‘राजनीति अहिले फोहोरी हुँदै गएको छ। पहिला पनि राजनीति भनेको चाहिँ फोहोर खेल हो भनेर शिक्षकहरूले विद्यार्थीहरूलाई सिकाइरहेको पाइन्थ्यो। त्यो गलत कुरा थियो। राजनीति फोहोरी खेल होइन। तर, राजनीतिमा जुन किसिमको आपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ, त्यो अन्त्य हुनुपर्छ।’

उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने बताए। 

अहिलेसम्म धेरै पटक संशोधन गरेकैले संविधानहरू जीवित रहेको बताउँदै समय अनुकूल परिवर्तन गरेमात्र संविधानलाई जीवित राख्न सकिने उनको भनाई छ। 

उनले भने, ‘संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको गुञ्जायस खोजिराख्नुपर्छ। संशोधनको गुञ्जायस खोजिराख्नुपर्छ। धेरै पटक संशोधन गरेको संविधानहरू नै जीवित छन् अहिलेसम्म। ०४६ सालमा बनेको संविधान ७२ सालमा किन भत्कियो भन्दा समय अनुकूल परावर्तन गर्दा नै हो।’

उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्योलता रहेको बताए। 

असोज ३, २०८१ शुक्रबार १५:१५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।