ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाइ

ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाइ

एजेन्सी : ७५ वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाइका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ।

पुलासन आँधी बिहीबार राति साङ्घाइको फेङ्जियान जिल्लामा २३ मिटर प्रतिसेकेन्ड (८३ किलोमिटर प्रतिघन्टा) को वेगमा अवतरण गरेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बताएको छ।

सिन्ह्वाले आँधी स्थलतर्फ अघि बढ्दै गर्दा क्रमिक रूपमा कमजोर हुने पूर्वानुमान गरिएको बताएको छ। यद्यपि शुक्रबार बिहान पनि वर्षा भइरहेको छ।

शुक्रबार सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा साङ्घाइका बासिन्दाहरू घुँडासम्मको पानीमा हिँडिरहेको देखिन्छ। यद्यपि अहिलेसम्म कुनै गम्भीर क्षति वा हताहतको समाचार छैन।

साङ्घाईका केही क्षेत्रले आँधी नजिकिँदै गर्दा बिहीबार आफ्नो चेतावनी स्तरलाई बढाएका थिए। बेबिनकाले सोमबार विध्वंश मच्चाएको केही दिनपछि पुलासन आँधी आएको हो। बेबिनका सन् १९४९ पछि साङ्घाईमा आएको सबैभन्दा शक्तिशाली आँधी थियो।

बेबिनका आँधीबाट एक हजार आठ सयभन्दा बढी रुख ढलेका थिए भने ३० हजारभन्दा बढी घरमा विद्युत् काटिएको थियो। अधिकारीहरूले आँधी आउनुअघि साङ्घाईभर चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए।

हरितगृह ग्यासहरूको उत्सर्जनका कारण जलवायु परिवर्तन हुँदा अत्यधिक मौसमी घटनाहरूलाई धेरै पटक र तीव्र बनाउँदै लगेको वैज्ञानिकहरूले बताएका छन्।

चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक हो। यद्यपि यस मुलुकको प्रतिव्यक्ति उत्सर्जन प्रतिद्वन्द्वी आर्थिक शक्ति संयुक्त राज्य अमेरिकाको तुलनामा कम छ।

असोज ३, २०८१ शुक्रबार १३:५८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।