इजरायलद्वारा लेबनानमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण, हिजबुल्लाहका एक हजार रकेट ब्यारेल नष्ट गरेको दाबी

इजरायलद्वारा लेबनानमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण, हिजबुल्लाहका एक हजार रकेट ब्यारेल नष्ट गरेको दाबी

एजेन्सी : मध्यपूर्वमा पुन: युद्धको अवस्था देखा परेको छ।

लेबनानमा तीन दिनदेखि भएको पेजर, वाकी-टकी र सौर्य ऊर्जा प्रणालीमा विस्फोट गराएपछि इजरायलले बिहीबार राति (सेप्टेम्बर १९) दक्षिणी लेबनानमा ७० वटा हवाई आक्रमण गरेसँगै युद्धको अस्वस्था देखिएको हो।

टाइम्स अफ इजरायलका अनुसार गाजा युद्ध शुरू भएयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित १०० भन्दा बढी रकेट लन्चरहरू आक्रमण गरी नष्ट गरेको बताएको छ। यसबाहेक १ हजार रकेट ब्यारेल पनि नष्ट भएको इजरायली दाबी छ।

आइडीएफले हिजबुल्लाहले यी हतियारहरू लिएर इजरायलमा आक्रमण गर्ने तयारी गरिरहेको थाहा भएपछि आक्रमण गरिएको तर्क गरेको छ।

इजरायली सेनाले हिजबुल्लाहका धेरै भवन र हतियार भण्डार ध्वस्त पारेको दाबी पनि गरेको छ।

यसअघि १७-१८ सेप्टेम्बरमा लेबनानमा पेजर र वाकीटकीमा विष्फोट भएको थियो। जसमा ३७ जनाको मृत्यु र तीन हजारभन्दा बढी मानिस घाइते भएका थिए। लेबनान र हिजबुल्लाहले यी आक्रमणका लागि इजरायललाई दोष दिएका थिए।

यसैबीच हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले पेजर र वाकी-टकी विस्फोटपछि आफ्नो पहिलो भाषण दिएका छन्। उनको भाषणपछि पनि राति अबेरसम्म इजरायली सेनाले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरेको थियो।

आफ्नो सम्बोधनमा नसरल्लाहले विस्फोटमा मारिएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। भाषणमा हिजबुल्लाह प्रमुखले इजरायलले यी आक्रमणले सबै सीमा पार गरेको भन्दै इजरायलले युद्धको सुरुवात गरेको बताएका छन्।

असोज ३, २०८१ शुक्रबार १२:२७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।