सिन्धु जल सन्धि पुनरावलोकन गर्न भारतको पठाएको नोटिसमा पाकिस्तानले दियो जवाफ

सिन्धु जल सन्धि पुनरावलोकन गर्न भारतको पठाएको नोटिसमा पाकिस्तानले दियो जवाफ

एजेन्सी : सिन्धु जल सन्धि पुनरावलोकन गर्न भारतले पठाएको कुटनीतिट नोटको जवाफ पाकिस्तानले दिएको छ।

पाकिस्तानले यो सन्धिलाई निकै महत्वपूर्ण मानेको र ६४ वर्षअघि भएको द्विपक्षीय सम्झौताका प्रावधानलाई भारतले पनि स्वीकार गर्ने आशा गरेको बताएको छ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पत्रकारहरूलाई भने, ‘पाकिस्तानले सिन्धु जल सन्धिलाई महत्त्वपूर्ण ठान्दछ र भारतले यसका प्रावधानहरूको पालना गर्ने अपेक्षा गर्दछ।’

स्थितिमा केही ‘आधारभूत र अप्रत्याशित’ परिवर्तन भएको भन्दै भारतले अगस्ट ३० मा पाकिस्तानलाई कुटनीतिक नोट दिएको थियो।

भारत र पाकिस्तानबीच १९ सेप्टेम्बर १९६० मा सिन्धु जल सन्धिमा हस्ताक्षर भएको थियो।

बलोचले दुई देशबीच इन्डस कमिश्नरको व्यवस्था रहेको र यस सन्धिसँग सम्बन्धित सबै विषयमा छलफल गर्न सकिने बताए।

सन्धिअनुसार तीन नदी चेनाब, झेलम र सिन्धुको पानीमा पाकिस्तानको तथा सतलज, ब्यास र रावी नदीको पानीमा भारतको पूर्ण अधिकार छ।

पछिल्लो डेढ वर्षमा भारतले जल सन्धि पुनरावलोकन गर्न पाकिस्तानलाई दोस्रो पटक कुटनीतिक नोट पठाएको छ।

असोज ३, २०८१ शुक्रबार १०:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।