धरहरा चढ्ने टिकट आइतबारसम्मका लागि बुक

धरहरा चढ्ने टिकट आइतबारसम्मका लागि बुक

काठमाडौं : सर्वसाधारणका लागि खुला गरिएको धरहरा चढ्नका लागि आइतबारसम्मको टिकट बुक भएको छ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए।

सरकारले संविधान दिवसका अवसरमा बिहीबारदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। पहिलो दिन धरहरामा सर्वसाधारणको अत्यधिक घुइँचो लागेको थियो।

‘अर्को व्यवस्था नभएसम्मका लागि प्रत्येक दिन छ सय जनाका लागि निःशुल्क रूपमा धरहरा चढ्ने व्यवस्था गरिएको थियो। तर पहिलो दिन नै एक हजार दुई सय जनाले धरहरा चढेको आधिकारिक रेकर्ड छ’, उनले भने।

उनका अनुसार कतिपय मानिसहरू विना टिकट नै धरहरा चढेका थिए। उनले भने, ‘आज अत्यधिक भीड भयो। भोलिदेखि व्यवस्थित रूपमा छ सय जनाका लागि मात्रै चढ्न दिन्छौँ।’

धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ‘धरहरा डट कम डट जिओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ।

२०७२ वैशाख १२ गएको विनाशकारी भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएपछि २०७५ असोज १४ गते नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट अर्कै धरहराको निर्माण सुरु भएको थियो।

पुरानो धरहरा अहिले ठडिएको धरहराको छेवैमा छोपेर राखिएको छ।

विसं २०७८ वैशाख ११ गते पूर्ण रूपमा नबनिकनै प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका थिए। अझै पनि धरहरामा धेरै काम गर्न बाँकी नै छ।

असोज ३, २०८१ शुक्रबार ०९:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।