घटस्थापनाअघि उपत्यकावासीलाई मेलम्चीको पानी

घटस्थापनाअघि उपत्यकावासीलाई मेलम्चीको पानी

काठमाडौं : काठमाडौं उपत्यकावासीले दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौंमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

दशैं अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका थिए। सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको छ।

मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौंमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

उनले भने, ‘मेलम्चीको पानी असोज दोस्रो साता भित्रै काठमाडौँमा ल्याउने तयारीमा छौँ।’

सोही योजनाअनुसार अहिले काठमाडौंमा बिग्रिएका तथा भत्किएका खानेपानीका पाइप मर्मत सम्हार गर्ने काम भइरहेको छ।

वर्खा याम सुरु भएसँगै धमिलो आउन र बाढीले क्षति गर्ने भएकाले गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो। बाढीको सम्भावना कम भएसँगै काठमाडौंमा पानी बितरण गर्ने योजना अनुसार तयारी भइरहेको छ।

काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ। काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ।

मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा एक हजार ७ सय किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ।

असोज ३, २०८१ शुक्रबार ०८:४३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।