हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट

सिमकोट : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी पाँच रुपैयाँ छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ।

हिन्दुहरूको महान् चाडपर्व दशैं, तिहारलाई लक्षित गरी सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयका निमित्त प्रमुख नवीनप्रसाद आचार्यले जानकारी दिए।

कार्यालयले यहाँका नागरिकलाई २५ केजीका छ किसिमका चामल बिक्री गर्दै आएको छ भने तोरी तेल र सूर्यमुखी तेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुटमा बिक्री हुने भएको निमित्त प्रमुख आचार्यले बताए।

अरुवा मोटा चामलको एक हजार पाँच सय २५, अरुवा सोना मन्सुली एक हजार सात सय २५, स्टिम जिरा मसिनो दुई हजार दुई सय ५० रुपैयाँमा बिक्री गरिने भएको व्यापार कम्पनीले जनाएको छ।

यसअघि अरुवा मोटा चामलको एक हजार छ सय ५०, अरुवा सोना मन्सुली एक हजार आठ सय ५० र स्टिम जीरा मसिनो दुई हजार तीन सय ७५ मा बिक्री वितरण हुँदै आएको थियो।

पच्चीस केजी बोराका विभिन्न चामलको प्रतिबोराबाट एक सय २५ रुपैयाँ छुटमा बिक्री हुन लागेको हो। यस्तै सूर्यमुखी तेल प्रतिपेटीको दुई हजार दुई सय ३० रुपैयाँ र तोरी तेलको प्रतिपेटी दुई हजार ३० रुपैयाँमा बिक्री हुन लागेको हो।

सहुलियत मूल्यमा खाद्यान्न बिक्री असोज ६ देखि असोज १५ गतेसम्म गरिनेछ। गत वर्ष पनि उक्त कार्यालयले छुटमा खाद्यान्न बिक्री गरेको थियो।

असोज ३, २०८१ शुक्रबार ०८:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।