मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव कायमै, पाँच प्रदेशमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं : देशभरी मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
 

असोज ३, २०८१ शुक्रबार ०७:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।