धरहरा चढ्न अनलाइन बुकिङ!, मोबाइल चलाउन नजान्ने सर्वसाधारणलाई 'आकाशको फल आँखा तरी मर्'

धरहरा चढ्न अनलाइन बुकिङ!, मोबाइल चलाउन नजान्ने सर्वसाधारणलाई 'आकाशको फल आँखा तरी मर्'
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : कीर्तिपुरका इन्द्र बहादुर श्रेष्ठले बुधबार बेलुकाको समाचारमा 'धरहरा सर्वसाधारणको लागि खुला गरेको र बिना टिकट चढ्न पाउने' सुने। अनि बिहिबार बिदाको दिन खाना खाइवरी चर्को घाममा लखरलखर हिँड्दै कीर्तिपुरबाट सुन्धारा आइपुगे। धरहराको गेटमा टालिएको विभिन्न सूचना उनले पढ्नै जानेनन्। अनि झ्यालको प्वालबाट 'कसरी भित्र जाने' भनेर सोधे। 

भित्रबाट आवाज आयो, 'टिकट पर्दैन, परबाट जानु न।' उनी एकछिन अलमल्ल परे। त्यो सूचनापाटी छेउमा बसेको व्यक्तिलाई सोध्दा 'धरहरा माथि चढ्नको लागि अनलाइनबाट अग्रिम समय लिएर आउनु पर्ने' थाहा पाए। इन्द्र बहादुरले त्यसपछि फेरि त्यही झ्यालमा गएर 'आफ्नो मोबाइलमा अनलाइन नआएको' भन्दै नागरिकता र राष्ट्रिय परिचयपत्र देखाउन मात्र आँटेका के थिए, भित्रबाट 'अब भोलि मात्र आउनु' भन्ने जवाफ पाए। 

केही सीप नलागेपछि उनी अलि नजिक गएर धरहरालाई धीत मरुञ्जेल हेरिरहे। अनि त्यहाँबाट अन्त कतै गए। तर, मोबाइल चलाउन नजानेकै कारण धरहरा छाड्ने उनको धोको पूरा भएन। 

इन्द्रबहादुरजस्तै आज दिनभर धरहरावरपर धेरैजनाले सास्ती खेपे। अनलाइनबाट बुकिङ गर्न नजान्नेहरूका लागी आजबाट खुलाइएको धरहरा व्यर्थै सावित भयो। मोबाइल चलाउन नजान्ने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएकोमा अधिकांश अलमल्ल परिरहेका थिए। 

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले धरहरा चढ्ने टिकट बुकिङका लागि ‘धरहरा डट कम डट जीओबी डट एनपी’ वेबसाइट सञ्चालन गरेको छ। तर, सर्वसाधारणले यसबारेमा पर्याप्त थाहा पाएका छैनन्, जुन कुरा आज धरहरा आसपासमा देखिएका केही दृश्यले पुस्टि गरे। 

गत साता मन्त्रिपरिषद्को बैठकले संविधान दिवसको अवसर पारेर आजदेखि धरहरा अस्थायीरूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। तर, अर्को व्यवस्था नभएसम्मका लागि सरकारले निःशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरेको भएपनि व्यवस्थापन भने राम्रोसँग गर्न नसकेको देखियो। 

बेलाबेला गेट नजिकैको झ्यालबाट कसैले 'भिड नगर्नु, अर्को गेटबाट जानु' भन्ने अनि सुरक्षागार्डहरू आएर 'यताबाट होइन, उताबाट' भन्ने बाहेक अरू कुनै पनि सुविधा त्यहाँ देखिएन। पार्किङको लागि काठमाडौँ महानगरपालिकाले धरहराको अन्डरग्राउण्ड खुला गरेदेखि त्यहाँ पनि भिड लाग्ने गरेकै हो। आज त झन् त्यसले गर्दा सर्वसाधारणले थप सास्ती भोग्न परेको देखियो। 

रत्नपार्क, नयाँसडक लगायत वरपर आउने जति पनि मानिसहरू देखिन्थे, ती सबै धरहराको टुप्पोमा भिड देखेपछि आफू पनि जान चाहेको देखिन्थे। तर, त्यहाँ कसरी जाने, कहाँबाट जाने भन्नेनै थाहा नभएर आधाभन्दा धेरै सर्वसाधारण त फर्किए। अनि गेटभित्र पसेकाहरू पनि फेरि फर्किएर लाइनमा बसिरहेका देखियो। 

अझैसम्म निर्माण पूर्ण रुपमा सम्पन्न नभएको धरहरामा आज पहिलो दिन मात्र १५ सय भन्दा बढी व्यक्तिले धरहरा चढेको अनुमान गर्दै त्यहाँका एक सुरक्षागार्डले भने, 'यति धेरै मान्छे आजै आउँछ भनेर सोचेको पनि थिएन। लाइन मिलाउनमै हाम्रो समय गइरहेको छ।'

माथि चढ्नको लागि दुईवटा लाइनको व्यवस्था मिलाइएको भए पनि लाइनमा वृद्धवृद्धादेखि बालबालिकाहरूलाई निकै कठिन भएको देखिन्थ्यो।  २२ तल्लाको धरहराभित्र 'लिफ्ट'को व्यवस्थापन भए पनि अत्यधिक भिडले गर्दा २० जना भन्दा बढी चढ्न नमिल्ने भनिएको थियो। तर 'लिफ्ट'भित्र छिरेर हेर्दा मुस्किलले दश जना मात्र अटाउने ठाउँ देखियो। 

'लिफ्ट' पनि पुरै भरिभराउ भएको कारण आधा भन्दा बढी सर्वसाधारण त भर्याङ्गनै उक्लिरहेका थिए। बीसौं तल्ला सम्म उक्लिंदा धेरै स्याँ-स्याँ र फ्याँ-फ्याँ गर्दै हिँडिरहेका देखिन्थे। आराम गर्नको लागि उनीहरू दायाँबायाँ आँखा डुलाउँथे। तर, त्यहाँ बस्नको लागि कुनै व्यवस्था थिएन। 'लिफ्ट'कै वरपर धेरै सर्वसाधारण त थ्याच्च बस्दै पसिना पुछ्ँदै देखिन्थे। 

तुलनात्मक रुपमा सबैभन्दा माथिल्लो तल्लाको भर्याङ्ग झन् बढी साँघुरो देखियो। त्यहाँ फोहोर फाल्नको लागि कुनै भाँडो नभएको कारण धेरैले फोहोर पनि जहाँतहीँ फालेको देखिन्थ्यो। 

विसं २०७२ वैशाख १२ गएको भूकम्पबाट धरहरा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसको अवशेष अझै पनि साइडमा देखिन्छ नै। विसं २०७८ वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट धरहराको उद्घाटन गरियो।

तर, उद्घाटन गरेको तीन वर्ष भइसक्दा पनि यसको अझै पनि निर्माण सम्पन्न भएको छैन।

  

असोज २, २०८१ बिहीबार २१:५२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।