'नेपालको संविधानले दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्छ, विदेशी ईन्ट्रेष्टमा काम हुन्छ'

'नेपालको संविधानले दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्छ, विदेशी ईन्ट्रेष्टमा काम हुन्छ'

काठमाडौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपालको वर्तमान संविधान दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्ने भएको बताएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने बताए। 

उनले भने, ‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन। यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्जवल गर्दैन। यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घटनाक्रमले पुष्टि गरिसकेको छ। हामीले पनि हेरिसकेका छौं। कसैले भुलवश नेपालको संविधान र नेपालको सरकार नेपालीकै हो भन्ने भ्रममा हुनुहुन्छ भने आजैबाट त्यो भ्रम हटाइदिन आग्रह गर्न चाहन्छु।’ 

उनले नेपाल सरकार र नेपालको प्रधानमन्त्री पनि नेपालको नभएको बताएका छन्। 

उनले भने, ‘कसैले नेपालकै सरकार हो भन्यो भने म त्यसलाई सोध्न चाहन्छु, अहिलेको प्रधानमन्त्री केपी ओलीजीसँग सोध्न चाहन्छु- साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो? नेपाली जनताकै प्रधानमन्त्री हो? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ?’ 

अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी भएको भन्दै यसले विदेशीको पक्षपोषण गर्ने पनि उनको भनाई छ। 

उनले भने, ‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ। संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होइन, विदेशीको पक्षपोषण गरेको छ। यहाँ विदेशी ईन्ट्रेष्टमा काम हुन्छ।’

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको भन्दै हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरू राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट भएको बताए। 

उनले भने, ‘नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ। लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ। नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरू डोमिनेट छन्। हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरू राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन्। मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरूको कारिन्दाको समारोह भनेको छु।’

असोज २, २०८१ बिहीबार २१:०८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।