‘नेसनल डे कन्सर्ट’मा उपस्थित प्रधानमन्त्री, हुटिङ बालेनको!

‘नेसनल डे कन्सर्ट’मा उपस्थित प्रधानमन्त्री, हुटिङ बालेनको!

काठमाडौं : संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरू सहभागी भए। 

कन्सर्टमा उनले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए। नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै दिवसलाई भव्य रुपमा मनाउन आग्रह पनि गरे। 
    
उनी उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ...’ बोलको गीत प्रस्तुत भएको थियो। सहभागीहरूले नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए। कलाकारहरूले गीत प्रस्तुत गरिरहेका बेला उनी त्यहाँ पुगेका थिए। 

तर, त्यहीबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पक्षमा हुटिङ भयो। प्रधानमन्त्री ओलीले शुभकामना दिँदै गर्दा बालेनका समर्थकहरूले 'बालेन, बालेन' भनेर हुटिङ गरे।

पछिल्लो पटक गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा समर्थकले बालेनको पक्षमा नारा लगाउँदा प्रधानमन्त्री ओली रिसाएका थिए। तर, आज भने उनले कुनै प्रतिक्रिया दिएनन्। 

कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ ।  

असोज २, २०८१ बिहीबार २०:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।