धनुषामा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ, नेपालमै बन्ने भयो लुब्रिकेन्ट

धनुषामा युनाइटेड लुब्रिकेन्ट इन्डष्ट्रिजको उद्योग शुभारम्भ, नेपालमै बन्ने भयो लुब्रिकेन्ट

काठमाडौं : धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ लालभित्तीमा युनाइटेड लुब्रिकेन्ट इण्डष्ट्रिजको उद्योग शुभारम्भ भएको छ। 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भिडोल इन्टरनेशनल, युकेका डाइरेक्टर अरिजित वासुले उद्योग समुद्घाटन गरे। 

त्यस अवसरमा मुुख्यमन्त्री सिंहले मधेश प्रदेश स्रोतमा धेरै धनी भएको र यसको सदुपयोग गरेर नेपाललाई समृद्ध बनाउनका लागि धेरै कार्य गर्न सकिने बताए। 

दैनिक रुपमा बढ्दो प्रविधि र प्रयोगसँगै अटोमोबाइल इन्ड्रस्ट्रीको दायरा समेत बढ्दै गएकोमा लुब्रिकेन्ट जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन नेपालमै सुरू हुनु ठूलो सफलता रहेको मुख्यमन्त्री सिंहको भनाई छ।  

भिडोल इन्टरनेशनल, युकेका निर्देशक अरिजित वासुले नेपालमा लुब्रिकेन्ट बजारमा निकै प्रतिस्पर्धा भए पनि गुणस्तरीय उत्पादन भएपछि सबैको रोजाइमा पर्ने र रोजगारी समेत सिर्जना हुने बताए

त्यस्तै, युनाइटेड लुब्रिकेन्ट इन्डस्ट्रिजका डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले करिब ५० करोडको लागतमा निर्माण भएको उद्योगबाट उत्पादन हुने लुब्रिकेन्ट, ग्रिज र अन्य उत्पादन विदेशबाट आयात गरेको भन्दा केही कम मूल्यमै उपलब्ध हुने बताए। 

१ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो उद्योगमा २० लाख लिटर क्षमताको स्टोरेज रहेको छ। यहाँ मासिक रुपमा प्रतिसिफ्ट १ लाख लिटर लुब्रिकेटिङ आयल उत्पादन गर्न सकिन्छ।

उद्योगले आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्छ र तयारी लुब्रिकेन्ट नेपाली बजारमा बिक्री गर्छ। कारखानाले दुई लाख लिटर लुब्रिकेन्ट स्टोरेज ट्यांक बनाएको छ।

हाल उद्योगमा युकेको प्रतिष्ठित लुब्रिकेन्ट ब्रान्ड भिडोलको उत्पादन समेत सुरू भएको छ। यो भन्दा पहिले नेपाली ब्रान्ड ‘नेपाल गोल्ड’ लुब्रिकेन्ट समेत यहाँबाट उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

उद्योगमा सम्भव भए सम्म स्वदेशी कच्चा पदार्थ नै प्रयोग गरिने बताइएको छ। यहाँ करिब ५० जनाले रोजगारी पाएका छन्। भारत र वेलायतबाट आएका प्राविधिकहरूले उद्योगका कामदारलाई प्रशिक्षण दिइरहेका छन्।  

असोज २, २०८१ बिहीबार २०:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।