६ करोड ८२ लाख खर्चमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

६ करोड ८२ लाख खर्चमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

काठमाडौं : बलुन नेपाल प्रालिको आयोजनामा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ। 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको हो। 

नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए।

फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा राखिएको छ। 

आयोजकका अनुसार फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने छ। फेस्टिभल अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरूले हट एयर बेनुनको उडान गर्नेछन्। 

एक सातासम्म चल्ने महोत्सवमा करिब पाँचसय व्यावसायिक उडान हुनेछन्। जसमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ। महोत्सवमा करिब तीनसय वटा गैर व्यावसायिक उडान हुनेछ।

फेस्टिभलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ । उक्त अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहनेछ। फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुने अनुमान आयोजकले गरेको छ।

सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरन्जनात्मक पर्यटकीय गतिविधि पनि गरिनेछ। 

फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ। 

असोज २, २०८१ बिहीबार २०:०५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।