पलेशासहितका पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान

पलेशासहितका पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान

काठमाडौं : एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट यो पुरस्कार प्रदान गरेको हो।

पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख नगद पुरस्कार पाएका छन्। त्यसैगरी तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्। 

पारा खेलाडीहरूलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणी उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए।

सोही कार्यक्रममा एनपीसी नेपालले पारालिम्पिक खेलप्रति चासो राखी यसको विकासमा पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै पारा खेलाडीहरूलाई उच्च मनोबल र हौसला प्रदान गरेकोमा एनसेललाई पनि सम्मान गरेको छ। युवा तथा खेलकुद मन्त्री चौधरीलगायतले एनसेललाई सो सम्मान गरे। 

एनसेलले गत वर्ष देखि आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो सीएसआर अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो। 

असोज २, २०८१ बिहीबार १९:४०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।