संविधान दिवस : यता सरकार पक्षको हर्षोल्लास, उता 'दलितलाई खै? भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)

संविधान दिवस : यता सरकार पक्षको हर्षोल्लास, उता 'दलितलाई खै? भन्दै विरोध प्रदर्शन (तस्बिरहरू)
फिचर तस्बिर अनलाइनखबर, अन्य तस्बिर नेपाल न्युज बैंकबाट

काठमाडौं : असोज ३ संविधान दिवसको अवसरमा नागरिकस्तरबाट काठमाडौंको दरबार मार्गमा कन्सर्ट हुँदैछ। ठुलो संख्यामा युवाहरू राष्ट्रिय झण्डासहित भेला भएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा विशेष कार्यक्रम आयोजना गरिएको छ। जहाँ उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका भीआइपीहरू उपस्थित भएर संविधान दिवस हर्षोल्लासका साथ मनाइरहेका छन्। 

तर, यही संविधानले दलित समुदायलाई उपेक्षा गरेको भन्दै काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म ‘दलितलाई खै’ भन्दै प्रदर्शन भएको छ। सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनपछि नयाँ बानेश्वरमा भएको कोणसभामा संयोजक सुनारले सम्बोधन गरेका थिए भने कलाकार हेमन्तकान्छा रसाईली, आयुस परियार लगायतले जातीय विभेद विरुद्धका गीत प्रस्तुत गरेका थिए।

दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनारसहितका युवाहरूले गरेको त्यस प्रदर्शनमा मुलुकका विभिन्न जिल्लादेखि भारतबाटसमेत सहभागीहरूको उपस्थिति छ। प्रदर्शनमा अन्तर्जातीय प्रेम गरेकै कारण मारिएका रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकका आमा बुवा, अन्तर्जातीय विवाह गरेकै कारण मारिएका काभ्रेपलाञ्चोकका अजित मिजारका आमा बुवा पनि सहभागी भएका थिए।

पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटकोसमेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित र्याली निकालेर दलितलाई खै? भन्दै प्रदर्शन गरे।

असोज २, २०८१ बिहीबार १९:१४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।