दुर्गा प्रसाईंको चेतावनी 'आफू विरूद्धको पक्राउ पुर्जी तत्काल फिर्ता नलिए राँके जुलुस र चक्काजाम गर्ने'

दुर्गा प्रसाईंको चेतावनी 'आफू विरूद्धको पक्राउ पुर्जी तत्काल फिर्ता नलिए राँके जुलुस र चक्काजाम गर्ने'

काठमाडौं : पक्राउ पुर्जी जारी भएपछि मेडिकल व्यवसायी प्रसाईंले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीले नागरिकको बोल्न पाउने अधिकार नै खोसिएको बताएका छन्।

आज भक्तपुरमा गरिएको पत्रकार सम्मेलनमा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले पक्राउ पुर्जीको विरोध गर्दै पक्राउ पुर्जी तत्काल फिर्ता नलिए बिहीबार राँके जुलुस र विरोध प्रदर्शन गर्ने तथा चार गते चक्काजाम गर्ने चेतावनी दिएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले भने, 'संविधान दिवसका दिन सर्लाहीको लालबन्दीमा विशाल कार्यक्रम राखेका थियौं। त्यसका लागि मञ्चसमेत तयार भएको थियो। त्यही कार्यक्रम बिथोल्ने उद्देश्यले हामी तीन जनाविरुद्ध आज बिहानमात्रै पक्राउ पुर्जी जारी गरिएको छ। यसले नागरिकको अधिकार खोसेको छ।'

तस्करहरूको विरोध गर्दा आफू माथि सरकारले पक्राउ पुर्जी जारी गराएको उनको आरोप छ। 

‘सो नीति सरकारले तत्काल फिर्ता नलिए आज मिति २०८१ साल असोज ३ गते  देशैभर विरोध सभा राँके जुलुस, विरोध प्रदर्शन र भोलि मिति २०८१ असोज ४ गते बाट देशैभर चक्काजाम, विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउनु हुन सबै नगर, जिल्ला,अञ्चल तथा केन्द्रीय पदाधिकारीलाई  यसै विज्ञप्तिमार्फत हार्दिक आह्वान गर्दछौँ’, महाअभियानको विज्ञप्तिमा भनिएको छ।

महाअभियानले प्रसाईंसँगै सञ्चारकर्मी प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटा मुद्दा लगाएर पक्राउ पुर्जी जारी गरी राज्यले दमन कार्यनीति अपनाएको भनेको छ।

बुधबार जिल्ला अदालत काठमाडौंले प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेको थियो।

विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।   

असोज २, २०८१ बिहीबार १६:४९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।