कांग्रेस नेता चिजबहादुरको हिजोका कुरा : किसुनजीलाई हराउन गिरिजाले सूर्यमा भोट हाल्न लगाए अनि विद्या भण्डारीले जितिन्
७० वर्षअघि धादिङको सुनौलो बजारमा जन्मिएका चिज बहादुर श्रेष्ठको अनेक परिचय छन्। कुनै समय राजनीतिमा सक्रिय उनले गीतका शब्द रचनाकार हुन् भने फिल्मका निर्माता पनि। पञ्चायत ढाल्न जोडतोडका साथ लागि परेका उनले नेपाली कांग्रेसबाट राजनीतिमा सक्रिय भूमिका निभाए।
पढाइको सिलसिलामा काठमाडौं आउँदा उनको संगत कांग्रेस निकट नेविसंघका विद्यार्थी नेताहरूसँग भयो। तत्कालीन समय पञ्चायतले प्रतिबन्ध लगाएको पत्रिका ‘तरुण’ पढ्थे गर्थे उनी। त्यसले उनमा कांग्रेसप्रतिको आकर्षण झनै बढायो। विद्यार्थी नेता हुँदै राजनीतिमा होमिएका उनले वीपी कोइराला र कृष्णप्रसाद भट्टराईसँगै भएर काम समेत गर्ने मौका पाए। भट्टराईकै छत्रछायाँमा रहेका उनकै पहलमा धादिङमा नेपाली कांग्रेसको स्थापना भयो। उनी धादिङ कांग्रेसका संस्थापक समेत हुन्।
पार्टीका गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टभराईबीच टक्कर चल्दा चिजबहादुरले समन्वयकारी भूमिका निर्वाह गर्थे। तर अहिले उनी राजनीतिमा सक्रिय छैनन्, राष्ट्रभावका गीत लेखनमा छन् उनी। उनलाई यही आनन्द लागिरहेछ अचेल। उनै चिजबहादुरले आफ्ना व्यक्तिगत र राजनीतिक अनुभव उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी सम्झिए।
हाइ स्कुल पढ्न तीन हिँडेर काठमाडौं
धादिङको तत्कालीन सदरमुकाम सुनौलो बजार गाउँ पञ्चायतमा मेरो जन्म भयो। मेरो बुवा व्यापारको सिलसिलामा काठमाडौंबाट धादिङको सुनौलो बजार पुगेको समयमा म त्यतै जन्मिएँ।
नौलो बजारमा हरेक सरकारी कार्यालयहरू छाप्राका थिए। स्कुल पनि त्यस्तै थियो। पछि ३३ सालतिर सुनौलो बजार सदरमुकामलाई ३३ सालमा धादिङबेशी सारियो। त्यसअघि धादिङबेशी खेतीयोग्य जमिन थियो।
त्यतिबेला स्कुलका तीन तह हुन्थे- प्राइमरी, मिडिल र हाइ स्कुल। सुनौलो बजारमा भैरवी प्राइमरी स्कुल थियो। विद्यार्थी बढ्दै गएपछि त्यसैलाई मिडिल स्कुल बनाइयो।
पढ्ने विद्यार्थीहरू केटीभन्दा केटा बढी हुन्थे। उनीहरूको आ-आफ्नै समस्या होला तर सरकारले छोरी मान्छेलाई पढाउन हुँदैन भन्ने कुरा सुनिएन। गाउँका केटीहरूमा पढ्नुपर्छ भन्ने चेतना नभएर पनि होला। शहरका त अधिकांशले पढेका थिए। स्कुलमा खोपी, पांग्रा र गुच्चा खेलिन्थ्यो। स्कुल नजिकै आर्मीको ब्यारेक बसेपछि भलिबल खेल्न थालियो। आर्मीहरूकै कारण फुटबल पनि खेलिन्थ्यो। यो करिब २० सालतिरको कुरा हो।
मैले सुनौलो बजारकै स्कुलबाट मिडिल कक्षा सकेपछि म हाइ स्कुल पढ्नका तीन दिन हिँड्दै ठाउँ-ठाउँमा बास बस्दै काठमाडौं आएँ। त्यतिबेला गाडी गुड्ने बाटै थिएन। बनिरहेको चाहिँ थियो। काठमाडौं आएपछि मैले २६ सालमा एसएलसी दिएको हो।
पाँच वर्षकै उमेरमा कांग्रेसको झण्डा
मैले थाहा पाउने बेलामा राजनीतिक दलको कुरा नै हुँदैनथ्यो। म चार वा पाँच वर्षको थिएँ होला, कापीमा कांग्रेसको झण्डा बनाएँ अनि सानो लौरोमा राखेर ‘नेपाली कांग्रेस जिन्दावाद’ भनेँ। त्यति भन्दा-नभन्दै स्कुलका सरले झण्डा खोसेर मलाई थप्पड हान्नुभयो र भन्नुभयो, ‘यस्तो बोल्नु हुँदैन।’
नेपाली कांग्रेस नाम सुनेको तर नदेखेको, एक्कासी मेरो मुखबाट निस्किएपछि सरले झाप्पड हान्नुभएको थियो। जुन कुरा अहिले पनि मेरो दिमागमा ताजै छ। सरले गाली गर्दै झाप्पड हानेपछि त्यसपछि यो त बनाउनु हुँदैन रैछ भन्ने लागेर कहिल्यै बनाइनँ।
काठमाडौंमा पढ्न थालेपछि पनि भने म राजनीतिमा होमिए। त्यतिबेला बलबहादुर केसीसँग मेरो भेट भयो। उनीहरूले तरुण भन्ने पत्रिका निकाल्थेँ। त्यो पत्रिका म कहाँ आइपुग्थ्यो। त्यतिबेला यो पत्रिका बाहिर निकाल्न बन्देज थियो। उनीहरूले छापेर मेरै कोठामा बन्डेलका बन्डेल पत्रिका ल्याइदिन्थेँ। त्यो पत्रिका मैले पढ्न थाले। नेपाली कांग्रेसको मुखपत्र जस्तै थियो।
त्यो बेला नेताहरूका कुरा यहिबाट पढेर थाहा पाइन्थ्यो। मैले वीपीका लेखहरू पढ्थेँ। हुँदा-हुँदा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायत थुप्रैको नाम सुन्न थालियो। बल बहादुर केसी, नुवाकोटका अर्जुन नरसिंह केसी र धादिङकै निलमणि लगायतका कांग्रेसीहरूको संगतमा लागेपछि म कांग्रेस भएँ।
सुरूवातमा नेविसंघको सदस्य भए। यो ३३ सालअघिको कुरा हो। जतिबेला धादिङको सदरमुकाम धादिङबेशी सरेकै थिएन। बुवाले भरिया लिएर सरसामान लिएर धादिङबेशी आइज भनेर खबर पठाउनुभयो। म पसलको लत्ता कपडा भरियालाई बोकाएर गएँ। बैक भर्खर खुलेको थियो। मेरो बैंकमा चल्ती खाता नम्बर १ थियो, अहिले त यो अब सम्झनामा मात्रै छ।
घरमा बसोबास गरिरहेको बेला म पढेकै स्कुलमा स्याङ्जाको जय प्रकाश पौडेल भन्ने पढाउन आएका रैछन्। उनी नेपाली कांग्रेसको मान्छे। कुरै कुरामा वीपीलाई एयरपोर्टमा स्वागत गर्न जाँदा म पक्राउ परेको कुरा समेत उनले थाहा पाए। त्यसपछि त के चाहियो र, जय प्रकाशले मलाई अझ धेरै ज्ञान दिन थाल्नुभो। धादिङमा कांग्रेसको बिउ रोप्नु थियो मलाई, आफैँ संस्थापक भएर रोपियो पनि।
बेइमानी गिरिजा, ज्ञानी कृष्णप्रसाद भट्टराई
त्यसबेलाका सबै कांग्रेसी नेताहरूसँग राम्रो सम्बन्ध थियो। विपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत थुप्रै नेताहरूसँग म नजिक थिए। अझ बढी नजिक कृष्णप्रसाद भट्टराईसँग हुन पुगेँ। के कारणले हो, त्यो अहिलेसम्म पनि खुट्याउन सकेको छैन। उहाँले रक्सी पिउँदा सँगै पिउँ भन्नुहुन्थ्यो। उहाँले नेवारी भाषामै ‘ओ चिज कुमार खाओ, नेवारको बच्चाले एक प्याक भएपनि खानुपर्छ’ भन्नुहुन्थ्यो। त्यो कुरा अहिलेसम्म पनि मेरो मानसपटलमा ताजै छ।
त्यो समय चुनावमा कृष्णप्रसाद भट्टराईले कसैलाई हराउनुपर्छ, कसलाई जिताउनुपर्छ भन्ने कुरै गर्नुहुँदैनथ्यो। नेपाली कांग्रेसलाई राम्रो गराउनुपर्छ र देशको विकासमा के-के गर्ने भनेर उहाँ छलफलमा बस्नुहुन्थ्यो। नेपाली कांग्रेस बाहेक यो देशको विकास कसैले पनि गर्न सक्दैन भन्नुहुन्थ्यो उहाँ।
तर गिरिजा बाबुले निकै बेइमानी थिए। उनले आफ्नै सांसद मन परेन भने सूर्यमा भोट हाल्न लगाउँथे। जो उनको भक्त हुन्छ उसलाई जिताउने। जो आलोचक हुन्छ, हराउने खेलमा लाग्थे। यही विषयमा गिरिजाबाबु र सुशील कोइरालासँग मेरो टक्कर नै परेको थियो। कृष्णप्रसाद भट्टराई नजिक भएपछि उनीहरू मप्रति खनिएका थिए।
एक पटक चुनावमा गिरिजाप्रसाद कोइराला नै कृष्णप्रसाद भट्टराईलाई हराएर एमाले नेतृ विद्यादेवी भण्डारीलाई जिताउन लागि परेका थिए। काठमाडौंको एउटा क्षेत्रमा उनले आफूनिकट नेता तथा कार्यकर्तालाई सूर्यमा भोट हाल्न लगाए। त्यो निर्वाचन एमालेकी भण्डारीले नै जितिन्।
पार्टीमा गिरिजाबाबुको सहायकहरू हाबी हुन थालेपछि गिरिजाबाबु र कृष्णप्रसादबीच विवाद चर्कियो अनि पार्टी फुट्यो। त्यतिबेला शेरबहादुर देउवा गृहमन्त्री थिए। उनले कृष्णप्रसाद भट्टराईको खेमाका मान्छेहरू समातेपछि पार्टी फुटेको हो। फेरि एकीकरण गर्ने भन्ने चर्चा चल्यो। एकीकरणको जिम्मेवारी मलाई दिइयो, त्यसको प्रमाणपत्र पनि अझै मसँग सुरक्षित छ।
एकीकरणको समयमा गिरिजाबाबुले मलाई बोलाउन पठाएका थिए। उनले बोलाउँदा म गइनँ। नजाँदा मलाई खेदो खनेका थिए। केही पदको समेत लोभ देखाए। तर म लोभिइन।
चाक्सीबारीको सम्मेलन सरकार हेरेको हेर्यै भयो
३६ सालमा म धादिङबाट पञ्चायत विरुद्ध लागिसकेको थिए। त्यो बेला मेरो भिनाजु पुरुषोतमदास श्रेष्ठ जिल्ला पञ्चायतको सभापति हुनुहुन्थ्यो। मेरो ठुलो दाइ गाउँ पञ्चायतको प्रधानपञ्च। यसबीचमा म कांग्रेस भएर जन्मिए। मेरो घरमा कुरा मिलेन। मेरो एक्टिभिटी बढेपछि जिल्लामा बहुदल प्रचारप्रसार समिति गठन भयो।
राज्यबाट बहुदल र निर्दलको कुरा आयो। त्यो भएपछि बहुदल प्रचारप्रसार समिति गठन गरियो। त्यसको संयोजक म थिए। गाउँ-गाउँ बस्ती-बस्ती पुगेर बहुदलको बारेमा प्रचारप्रसार गरियो। अन्ततः देशमा जनमत संग्रह भयो। निर्दलीयले जित्यो, हामी बहुदल पक्षले हार ब्यहोर्नुपर्यो। भारतबाट चन्द्रशेखर नेपाल आए। धादिङको नेतृत्व गर्दै म आए। गणेशमान सिंहको चाक्सीबारीमा भेला हुने कुरा थियो।
निकै सक्रिय भएर लागेँ त्यो बेलामा। पुलिसहरूले होस् या आर्मीले त्यो सम्मेलनमा नजिकबाट हेर्न त के चिहाउन पनि सकेनन्। भित्र के भइरहेको छ पुलिस या गुप्तचरलाई समेत थाहा भएन। त्यति सक्रिए भएर लाग्यौँ। सरकारले पार्टीलाई प्रतिबन्ध लगाएको समयमा त्यसरी प्रहरीले चिहाउन नसक्ने अवस्था थियो।
भेला भएका सबैलाई भारतीय नेता चन्द्रशेखरले भनेको एउटा भनाई अहिले पनि याद छ। ‘दिलबाट डर निकालिदेउ, दुनियाँको कुनै पनि तागतले तिमीलाई छुन सक्दैन’ भन्ने उनको डाइलगले हामीलाई झन् जोसिलो बनायो।
कलाकारितामा रहर
बाल्यकालदेखि नै म कलाकारितामा रुचि राख्थेँ। सुका मोर उठाएर धादिङमा नाटक समेत गराएको हो। २४ सालतिर काठमाडौं आउँदा बालमन्दिरको तर्फबाट राष्ट्रिय नाचघरमा बाल कलाकारको आह्वान गर्दा म पनि गएको थिएँ। कलाकारमा छनोट भएपछि नाटक खेल्ने पक्का भयो। त्यतिबेला भुवन चन्द, भुवन थापा र बिमला श्रेष्ठहरूसँग मैले काम गरेँ।
बिमलाको डान्स एकदमै राम्रो थियो, डान्स डिरेक्टर पनि हुनुहुन्थ्यो। त्यतिबेला मैले भोटे सेलो नृत्यमा म पहिलो भएको थिएँ। त्यहाँको कलाकारहरूलाई मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहले बालाजुको बाइस धारामाथि पिकनिक लैजानुभएको थियो।
मलाई अहिले पनि त्यो समय राम्ररी याद छ। उहाँको वरिपरी आर्मी प्रहरी कोही पनि देखिन। कतै थिए भने बेग्लै कुरा हो। उहाँ केटाकेटीहरूलाई असाध्यै माया गर्ने साधारण मान्छे हुनुहुन्थ्यो। बच्चा नाच्छु भन्यो भने ‘नाच नाच’ भनेर उक्साउनुहुन्थ्यो। त्यो समयमा अहिले पनि आए हुन्थ्यो जस्तो लाग्छ।
म राजनितीमा लागेको हुनाले कलाकारितातर्फ आउने मौकै पाइनँ। बेला-बेलामा फिल्म बनाउँछु भन्ने लागिरहन्थ्यो। यो चाहना मैले पार्टीबाट निष्क्रिय भएपछि फिल्म ‘यात्रा’मार्फत पूरा गरेँ। उक्त फिल्ममा निर्माताको रूपमा जोडिएको छु। यही फिल्मबाट मल्लिका महतले डेब्यु गर्नुभएको हो।
अब फेरि अर्को पनि फिल्म निर्माण गर्ने सोचमा छु। कुराहरू भइरहेका छन्। यो सँगसँगै देशलाई केही फाइदा हुने र आम मानिसलाई चेतना दिने राष्ट्रिय भावका गीतहरू लेख्ने, रेकर्डिङ गर्ने र भिडियो बनाएर रिलिज गर्ने गरिरहेको छु।
असोज ३, २०८१ बिहीबार १३:५३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।