बालेनलक्षित ओलीको टिप्पणी- ‘आगो लगाउँछु भन्नेहरुबाट आफूलाई बचाउनुहोला’

बालेनलक्षित ओलीको टिप्पणी- ‘आगो लगाउँछु भन्नेहरुबाट आफूलाई बचाउनुहोला’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)माथि कटाक्ष गर्दै उनको पछि नलाग्न आह्वान गरेका छन्।

संविधान दिवसको अवसरमा गरेको सम्बोधनमा उनले मेयर शाहलाई लक्षित गर्दै समाजमा आगो लगाउँछु भन्नेहरूबाट बच्न आग्रह गरेका छन्।

‘खासगरी युवा पुस्तालाई सचेत गराउन चाहन्छु- तपाईंहरूभित्र केही गरौं भन्ने आगो बलिरहेको छ, समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला,’ मेयर बालेनको नाम नलिई उनले भने, ‘तपाईंमा केही गरौं भन्ने हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनुहोला।’

समाजमा थिति बसे र सभ्य भए विकास र सुशासन कायम हुने बताए।

‘समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरुले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ गर्छौँ। सुशासन कायमत हामी गर्छौँ गर्छौँ,’ उनले थपे, ‘तर देश भाँडियो भने, अशिष्टहरुले अराजकता मच्चाउन अलिकति पनि मौका पाए भने हामी पुस्तौँ पुस्ता पछि पर्नेछौँ।’

समाजमा अनुशासन र सामाजिक व्यवस्थाका आफ्नै सिलहरु भएको भन्दै समाजले अराजकता र भाडभैलोलाई लोकतन्त्र नमान्ने बताए।

काठमाडौंले महानगरका प्रमुख शाहले केही समयअघि आफ्नो सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाइदिने स्टाटस लेखेका थिए भने मंगलबार काठमाडौंमा भएको इन्द्रजात्रामा उनका समर्थकले उनको तस्बिरअंकित टिसर्ट लगाएर गएका थिए।

त्यसपछि उनीहरुलाई प्रहरीले साढे तीन घण्टा नियन्त्रणमा लिएर छाडेका थियो। प्रहरीको उनीहरुकै सुरक्षाका लागि नियन्त्रणमा लिएको तर्क गरेको थियो।

असोज २, २०८१ बिहीबार ११:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।